जिसस सुर्खेतको निर्वाचन भोली

सुर्खेत । जिल्ला समन्वय समिति सुर्खेतको नेतृत्व चयनका लागि भोली २७ गते निर्वाचन हुने भएको छ । निर्वाचन बिहान दश बजेदेखी दिउँसो १ बजेसम्म हुने मुख्य निर्वाचन अधिकृत डा. सुरेशकुमार आचार्यले जानकारी दिए ।

भोली हुने निर्वाचनका लागि गत २४ गते मनोनयन दर्ता भइसकेको छ । नौ वटा स्थानिय तह रहेको सुर्खेत जिल्लामा समन्वय नेतृत्वका लागि काँग्रेस एक्लो र एमाले–माओबादीले गठबन्धन गरेका छन् ।

प्रमुख उपप्रमुखसहित नौ पदमध्ये काँग्रेसले पाँचजनाको मात्रै मनोनयन दर्ता गरेको काँग्रेस जिल्ला सचिव देवकुमार सुवेदीले जानकारी दिए । उनका अनुसार प्रमुखमा दिलिपकुमार वाग्ले, सदस्यहरुमा उजिरसिंह कामी, रत्नादेवी ढुंगाना, लीलाजंग शाह र गौरी दमाईले उम्मेदवारी दिएका हुन् । उपप्रमुख सहित चार पद नेकपा माओबादीका लागि काँग्रेसले छोडेको सुवेदीले बताए ।

यस्तै एमाले–माओबादीका तर्फबाट प्रमुखमा एमालेका गंगाराम सुनार, उपप्रमुखमा माओबादीका सचिनकुमार बडुवालले उम्मेदवारी दर्ता गराएका हुन् । सदस्यहरुमा एमालेका डिल्लीप्रसाद पाण्डे, पृथ्वीबहादुर बुढाक्षेत्री, चन्द्राकुमारी धामी, मिना मल्ल, सावित्रा टमटाले उम्मेदवारी दिएका हुन् ।

यस्तै माओवादीबाट शान्ति ताराम र तुलबहादुर नेपालीले सदस्यमा उम्मेदवारी दिएका हुन् ।

जिल्ला समन्वय समितिको निर्वाचनमा स्थानिय तहका प्रमुख र उपप्रमुखले मात्रै भोट हाल्न पाउने कानुनी व्यवस्था रहेको छ । जसमा सुर्खेतका नौवटा स्थानिय तहमध्ये माओबादीले एक, नेकपा एमालेले नौ र नेपाली काँग्रेसले आठवटा स्थानमा जितेको थियो ।

सोही अनुसार माओबादीको एक, एमालेको नौ र नेपाली काँग्रेसका आठ भोट समन्वयका लागि रहेका छन् । जसमा नेकपा माओबादीको भोट समन्वय नेतृत्वका लागि निर्णायक भोट हो । जसअनुसार माओबादीले नेकपा एमालेसंग तालमेल गरेको छ ।