काठमाण्डौ । नेकपा माओवादी केन्द्रले पालिकामा निर्वाचित जनप्रतिनिधिहरूका लागि प्रशिक्षण सुरु गरेको छ । काठमाण्डौको कुमारी हलमा चलिरहेको कार्यक्रममा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, स्थानीय विभाग प्रमुख उर्मिला अर्याल लगायत नेता र विषय विज्ञहरूले प्रशिक्षण दिने पार्टी केन्द्रीय कार्यालयका मुख्यसचिव श्रीराम ढकालले जानकारी दिए ।
प्रशिक्षण कार्यक्रममा स्थानीय सरकार सञ्चालन, सेवा प्रवाह, विकास निर्माण, सुशासन, स्वास्थ्य, शिक्षा, बजेट तथा कानुन निर्माण लगायत विषय समेटिने उनले बताए । भोलि बिहीवारसम्म चल्ने प्रशिक्षणमा माओवादी केन्द्रको तर्फबाट निर्वाचित गाउँपालिकाका अध्यक्ष, उपाध्यक्ष तथा नगरपालिकाका प्रमुख, उपप्रमुखहरू सहभागी छन् ।
प्रशिक्षण कार्यक्रममा अघिल्लो कार्यकालमा उत्कृष्ट काम गरेका प्रत्येक प्रदेशबाट एक एक पालिका प्रमुखले अनुभव सुनाउने कार्यक्रम पनि राखिएको छ । प्रदेश नम्बर १ को थुलुङ दूधकोशी गाउँपालिकाका अध्यक्ष असिम राई, मधेसको बाग्मती नगरपालिकाका प्रमुख भरत थापा, बाग्मती प्रदेशको भरतपुर महानगरपालिकाकी प्रमुख रेनु दाहाल, गण्डकीको बारपाक सुलिकोट गाउँपालिकाका अध्यक्ष विष्णुप्रसाद भट्ट, लुम्बिनीको धुर्कोट गाउँपालिकाका अध्यक्ष भूपाल पोखरेल, कर्णालीको दार्मा गाउँपालिकाका अध्यक्ष नीमबहादुर केसी र सुदूरपश्चिम प्रदेशको अजयमेरु गाउँपालिकाका अध्यक्ष उमेशप्रसाद भट्टले आ–आफ्नो अनुभव प्रस्तुत गर्नेछन् । गएको वर्ष सुशासनको क्षेत्रमा सुदूरपश्चिम प्रदेशको अजयमेरु गाउँपालिका र लुम्बिनी प्रदेशको धुर्कोट गाउँपालिका शीर्ष पाँचभित्र परेका थिए ।
प्रशिक्षण कार्यक्रमको उद्घाटन समारोहमा अध्यक्ष प्रचण्डले पार्टीको महाधिवेशनले पारित गरेको दस्तावेज बोकेर त्यहीअनुसार काम गर्न निर्वाचित जनप्रतिनिधिहरूलाई निर्देशन दिनुभयो । सुविधामा नभुल्न भन्दै उनले जनप्रतिनिधिहरूलाई विकास र सुसासन अभिवृद्धिमा कटिबद्ध हुन आग्रह गरे ।
यस्तै प्रचण्डले काठमाण्डौ, धरान लगायतका ठाउँमा स्वतन्त्र उम्मेदवारले जिते पनि यस्तो जित अपवाद मात्रै हुने बताउनुभयो । आउँदा वर्षहरूमा पनि चुनाव जित्ने र काम गर्ने दलहरूले नै हो भन्दै उहाँले दल आफूले पनि नागरिकको मन जित्नुपर्ने बताउनुभयो ।
माओवादीले यसअघि २०७४ सालको चुनावमा विजयी जनप्रतिनिधिलाई पनि तीन दिन पार्टी केन्द्रीय कार्यालयमा प्रशिक्षण गरेको थियो । यस पटक विगतभन्दा परिमार्जित ढङ्गबाट प्रशिक्षणको आयोजना गरिएको माओवादीले जनाएको छ ।


फरकबाटो १८ जेष्ठ २०७९, बुधबार १४:४६