प्लानिङ शीर्ष स्थानमा

काठमाडौं । प्लानिङ ब्वाइज  युनाईटेड सहिद स्मारक ‘सी’ डिभिजन लिगको शीर्ष स्थानमा उक्लिएको छ । एन्फा कप्लेक्स सातदोबाटोमा सोमबार समाज कल्याण खेलकुद केन्द्रलाई ४-० गोल अन्तरले हराउँदै प्लानिङ शीर्ष स्थानमा उक्लिएको हो ।

खेलको १९ औं मिनेटमा फागु राम थारुले गोल गर्दै प्लानिङलाई सुरुआती अग्रता दिलाएका थिए । ४१ औं मिनेटमा प्रताप सिंह राईले गोल गर्दै प्लानिङको अग्रता २-० को बनाए ।

खेलको ६८ औं मिनेटमा विपिन पराजुलीले आत्मघाती गोल गरेपछि प्लानिङको अग्रता ३-० को बन्यो । त्यसपछि खेलको ८१ औं मिनेटमा अर्जुन कुमार रानाले गोल गर्दै प्लानिङलाई ४-० को जित दिलाए ।

जितसँगै प्लानिङले १२ खेलमा २८ अंक जोडेको छ । प्लानिङले अब अन्तिम खेल जितेको खण्डमा बी डिभिजनमा बढुवा हुनेछ। समाज कल्याण १५ अंक जोडेर सातौं स्थानमा रहेको छ ।