भलिबल दिवस आज

काठमाडौं । आज जेठ ८ गते, भलिबल दिवस । राष्ट्रिय खेल भलिबल दिवस विविध कार्यक्रम गरेर मनाईदैछ । सरकारले भलिबललाई राष्ट्रिय खेल घोषणा गरेको दिनको सम्झनामा नेपालमा भलिबल दिवस मनाउने गरिएको छ ।

दिवसको अवसरमा जावलाखेल भलिबल प्रशिक्षण केन्द्रले आइतबार जावलाखेलमा मैत्रीपूर्ण खेल लगायत, विविध कार्यक्रमको आयोजना गरिने जनाएको छ ।

यस्तै महिला भलिबलमा छुट्टै छाप बनाउन सफल न्यु डायमन्ड स्पोर्ट्स क्लबले क्लबकै प्रांगणमा विविध कार्यक्रमको आयोजना गर्दैछ । नेपाल भलिबल संघले भने औपचारिक कार्यक्रमको जानकारी गराएको छैन ।

तत्कालिन पुष्पकमल दाहाल (प्रचण्ड) नेतृत्वको सरकारले २०७४ साल जेठ ८ गते भलिबललाई राष्ट्रिय खेलको मान्यता दिएको थियो । युवा तथा खेलकुद मन्त्री दलजित श्रीपाईलीको पहलमा मन्त्रीपरिषदबाट भलिबललाई राष्ट्रिय खेलको रुपमा घोषणा गरिएको थियो ।

सोही दिनको सम्झनामा नेपाल भलिबल संघले जेठ ८ गतेलाई भलिबल दिवसमा अवसरमा मनाउन सुरु गरेको हो । भलिबललाई राष्ट्रिय खेलको रुपमा घोषणा गरेको सरकारले राष्ट्रिय खेलकुद विधेयकमै यसलाई समावेश गरेको छ । नेपालको राष्ट्रिय खेलको रुपमा भलिबल हुने व्यवस्था विधेयकमा उल्लेख गरिएको छ । सो विधेयक संघीय संसदका दुवै सदनबाट पारित भएर राष्ट्रपतिबाट समेत प्रमाणिकरण भएको छ ।

घरेलु खेलकुदमा पछिल्लो समय भलिबल लोकप्रिय खेलको रुपमा अगाडी आएको छ । भौगोलिक हिसाबले देशको सबै भागमा खेल्न सकिने र लोकप्रिय खेलको रुपमा रहेको भलिबललाई राष्ट्रिय खेल बनाउन भलिबल संघले समेत तिव्र लबिङ गरेको थियो ।