
सुर्खेत । यही वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि माओवादी केन्द्र वीरेन्द्रनगरले समृद्ध वीरेन्द्रनगरका लागि आफ्नो प्रतिवद्धतामा शिक्षा, स्वास्थ्य र रोजगारलाई प्राथमिकता दिएको छ ।
प्रतिवद्धता पत्रमा नगरको कुल बजेटको २० प्रतिशत शिक्षामा लगानी गर्नेदेखि नगर क्षेत्र भित्र बसोबास गर्ने १५ बर्ष मुनिका बालबालिका र ६५ बर्षमाथिका जेष्ठ नागरिकलाई निशुल्क स्वास्थ्य सेवा उपलव्ध गराइने र आयआर्जन र रोजगार सृजना गर्नेलगायतका विषयहरु समेटिएका छन् ।
माओवादी केन्द्र वीरेन्द्रनगरको प्रतिवद्धता
शिक्षा तथा स्वास्थ्य
–संविधानमा व्यवस्था गरिएको शिक्षाको मौलिक हक कार्यान्वयन गर्न वीरेन्द्रनगर नगरपालिकाको कूल बजेटको न्यूनतम २० प्रतिशत शिक्षामा लगानी गरिनेछ ।
–नगर भित्रका माध्यमिक तहसम्मको सम्पूर्ण शिक्षा अनिवार्य र निःशुल्क गरिनेछ । हरेक विद्यालयमा इ–लाइब्रेरी स्थापना गर्नुका साथै विद्यार्थीहरूलाई पाठ्यपुस्तक र ल्यापटप लगायत आधुनिक शिक्षण सामग्री क्रमशः उपलब्ध गराइनेछ ।
– सामुदायिक विद्यालयबाट माध्यामिक शिक्षा परीक्षा (एसईई)मा उत्कृष्ट अंक ल्याउने प्रत्येक वडाबाट एकजनालाई प्रमाणपत्र तहको प्राविधिक शिक्षा निशुल्क प्रदान गरिनेछ ।
– वीरेन्द्रनगर भित्र रहेका विद्यालयहरूमा प्रभावकारी शिक्षण सिकाईका लागी सुरक्षित भवन, पर्याप्त फर्निचर, पुस्तकालय, शैक्षिक सामग्री, प्रयोगशाला, खानेपानी, शौचालय, छात्रावास, खेलकुदको व्यवस्था, सरसफाई आदिको उचित प्रबन्ध गरिनेछ ।
– नगर क्षेत्रमा रहेका पूर्व प्रथामिक तहमाविद्यालयमा बालमैत्री सिकाईका लागि आबश्यक सम्पूर्ण सामाग्रीको व्यवस्थापन गरिनेछ ।
– नगर क्षेत्रभित्र अपाङ्गता भएका व्यक्तिहरूलाई विशेष शिक्षाको व्यवस्था गरिनेछ ।
– सामुदायिक र निजी विद्यालयहरूमा अपाङ्ग र बालमैत्री, पूर्वाधारसहित अंग्रेजी तथा बहुभाषिक शिक्षाको व्यवस्था गरिनेछ ।
– नगर क्षेत्र भित्र कार्यरत शिक्षक तथा कर्मचारीहरुको पेशागत विकासका लागि विशेष योजना ल्याइनेछ ।
– वीरेन्द्रनगर बजार क्षेत्रमा उत्सर्जन हुने फोहोर व्यवस्थापन तथा सरसफाइको लागि यथोचित प्रबन्ध मिलाइनेछ ।
– बालबालिका, गर्भवती, अपाङ्ग तथा वृद्धवृद्धाहरूका लागि सहुलियत स्वास्थ्य सेवा दिइनेछ ।
– गर्भवती सुत्केरी महिलालाई प्रसुती र स्वास्थ्य जाँचका लागि एम्वुलेन्स निशुल्क उपलब्ध गराइनेछ ।
– एक वर्षसम्मका बालबालिकालाई पोषण भत्ताको समेत व्यवस्था गरिनेछ ।
– नगर क्षेत्र भित्र बसोबास गर्ने १५ बर्ष मुनिका बालबालिका र ६५ बर्षमाथिका जेष्ठ नागरिकलाई निशुल्क स्वास्थ्य सेवा उपलव्ध गराइनेछ ।
– वीरेन्द्रनगर अस्पताललाई संघीय र प्रदेश सरकारसँगको समन्वयमा भरपर्दो र नियमित स्वास्थ्य सेवा र दक्ष जनशक्तिसहित अधुनिक उपकरण सञ्चालनमा सहयोग पुयाइनेछ ।
– वीरेन्द्रनगर क्षेत्र भित्र हरेक वडामा एमबीबीएस तहको डाक्टरको दरबन्दी सहित सुबिधायुक्त वडा अस्पताल निर्माण गरिनेछ ।
कृषि, रोजगार, र सामाजिक सुरक्षा
– नगरक्षेत्रमा कृषि उत्पादनको बजारीकरण र बिक्रीका प्रवर्द्धनका लागि कृषि बजार स्थापना गरिनेछ ।
– नगपालिकालाई परम्परागत कृषि प्रणालीको सट्टामा यान्त्रिकीकरण सहित जैविक खेती प्रणालीको व्यवस्था गरी अर्गानिक उत्पादनलाई प्रबर्द्धन गरिनेछ ।
– नगर क्षेत्र भित्रका कृषक समूहलाई उत्पादानका आधारमा अनुदान रकम उपलब्ध गराइनेछ बिस्तारै अन्य कृषक समूह तथा संस्थालाई पनि क्रमशः उपलब्ध गराइनेछ ।
– नगर क्षेत्र भित्रका दलित, असाहय, बाढीपीडित तथा सुकुमबासीको पहिचान गरी सुरक्षित जनता आवास कार्यक्रम प्रभावकारी कार्यान्वन गरिनेछ ।
– नगरबासी महिला, युवा, दलित, जनजाति, अल्पसंख्यक समुदायको सशक्तीकरण, रोजगारी तथा सहयोगका लागि विशेष प्याकेज तयार गरिनेछ ।
– नगरक्षेत्र भित्र रहेका सबै किसिमको खाद्य तथा अखाद्य कृषिबाली र पशुपंक्षी व्यवसायमा बीमा व्यवस्था लागू गरिनेछ ।
– नगरपालिका क्षेत्रमा एउटा अधौगिक ग्राम स्थापना गरी कम्तिमा पाच सय युवालाई रोजगारी सृजना गरिनेछ ।
– वीरेन्द्रनगरपालिकाबाट प्रदान गरिने सार्बजनिक सेवामालाई छिटो छरितो र प्रभाकारी बनाइनेछ ।
– व्यक्तिगत घटना दर्ता जस्तै जन्म, मृत्यु, बिबाह, बसाइसराइ, र सम्बन्ध बिच्छेद जस्ता घटनाहरूको दर्ता नगरबासीबाट सुचना प्राप्त भए पश्चात घर घर मै गएर संकलन गरिनेछ ।
– नगर भित्र रहेका बृद्द, बिधुवा, अपांग लगायतका नागरिकले पाउने भत्ता बापतको सुबिधा नागरिकको घर दैलो मै उपलब्ध गरिनेछ ।
– नगरक्षेत्र भित्र बसोबास गर्ने जनयुद्द, जनआन्दोलन, र पदेश प्राप्तिको आन्दोल्नमा घाइते आपांग र सहिदपरिवारलाई विशेष सेवा उपलब्ध गराइनेछ ।
सडक, यातयात र भौतिकपूर्वाधार
– वीरेन्द्रनगरलाई व्यवस्थित शहरीकरणका लागि चक्रपथको निर्माण कार्य सम्पन्न गरिनेछ ।
– नगरक्षेत्र भित्रका सम्पूर्ण योजनाका बाटाहरूलाई कालो पत्रे गराइनेछ ।
– वीरेन्द्रनगरका सडक किनाराहरूमा वृक्षारोपण गरि हरित शहर निर्माण गरिनेछ ।साथै सडक पेटीलाई पैदल यात्रु मैत्री बनाइनेछ ।
– वीरेन्द्रनगरका हरेक वडामा सार्बजनिक जज्गामा सुन्दर आकर्षक उद्यानहरू बनाइने छ ।
– वीरेन्द्रनगर बजार क्षेत्र भित्रका ढल व्यबस्थापन र सडकहरूको स्तरोन्नति कार्य तत्काल गरिनेछ ।
– वीरेन्द्रनगर वडा न. ४ खोर्के र ५को चिसापानीलाई जोड्न जिरो ड्यामभन्दा तल , कालिन्चोकबाट एरपोर्ट जोड्ने इत्राम खोलामा, चाइनापुल तल लाटिकोइली मन्दिरसम्म वारिपारी जोड्ने तीन स्थानमा, सडक पुल निर्माण गरिनेछ ।
– वीरेन्द्रनगरका वडा न. १४, १५ र १६ मा ट्रयाकमात्र खोलिएका सडक विस्तार गर्दै कालो पत्रे निर्माण गरिनेछ ।
– वीरेन्द्रनगर बजार स्तिथ मंगलगढी चोकमा आकाशेपुलमा निर्माण गरिनेछ ।
– सिटी बसपार्कलाई ब्यवस्थित बनाइनेछ ।
– वीरेन्द्रनगरलाई पूर्णरुपमा धुलो धुवा रहित शहरको रुपमा बिकाश गरिनेछ ।
– वीरेन्द्रनगरको चक्रपथ र चारलाइन सडक आसपासमा निर्माण हुने घर निर्माणमा एकरुपता कायम गरिनेछ ।
– नगरपालिका क्षेत्रमा एउटा औद्योगिक ग्राम स्थापना गरि कम्तिमा पाच सय युवालाई रोजगारी सृजना गरिनेछ ।
– नगरपालिका भित्र उपयुक्त स्थानमा सार्बजनिक आपांग मैत्री शौचालय निर्माण गरिनेछ ।
– नगपालिका क्षेत्र भित्र निर्माण हुने हरेक भौतिक संरचनाहरू पूर्ण अपांग मैत्री बनाइनेछ ।
– नगर क्षेत्रमा योग भवन र जिम पार्कको निर्माणका लागि आवश्यक व्यबस्था गरिनेछ ।
– वीरेन्द्रनगरका इत्राम र खोर्के खोलामा उत्पन हुने सम्भावित जोखिमबाट नजिकका बस्तीलाई बचाउनका लागि ब्यबस्थित तटबन्ध निर्माण गरिनेछ ।
विद्युत, खानेपानी र खेलकुदः
– वीरेद्रनगरका विद्युतीकरण नभएका स्थानमा तत्काल पूर्ण विद्युतीकरणको कामहरू सम्पन्न गरि उज्यालो वीरेन्द्रनगरको कार्यक्रमलाई पूर्णता दिइनेछ ।
– बजार क्षेत्रभित्रका विद्युत लाइनहरू स्तरोन्नति गर्दै सोलार तथा सडक बत्तिहरूलाई व्यवस्थित गरिनेछ । साथै सम्पूर्ण बत्तीका लाइनलाई भूमिगत गरिनेछ ।
– प्रत्येक घरघरमा पिउन योग्य खानेपानीको व्यवस्थापन गर्दै प्रदेश सरकारसँग समन्वय र सहकार्यमा भेरी नदीको पानी वीरेन्द्रनगर उपत्यकामा लिफ्टिंग गरी सहज पिउने पानीको व्यवस्था गरिनेछ ।
– उत्तरी जलाधार क्षेत्र र दक्षिणतर्फको बुलबुले क्षेत्रका मुहानहरूलाई संरक्षण गरि वीरेन्द्रनगरको खानेपानी समस्यालाई दीर्घकालीनरुपमा समधान गरिनेछ ।
– वीरेन्द्रनगर बजारमा अग्नि नियन्त्रण कार्यलाई प्रभावकारी बनाउन एक रिजर्भ पानी ट्याङ्की निमार्णसहित बजारको चोकचोकमा पर्याप्त अग्नि नियन्त्रण प्रविधि निमार्ण गरिनेछ ।
– अपाङग, गरिब–विपन्न तथा पछाडि पारिएका ब्यक्तिलाई विपन्नताको परिचय पत्रको व्यवस्था गरी त्यस्ता समुदायलाई खानेपानी र विजुलीको न्यूनतम महशुल पूर्ण निशुल्क गरिनेछ ।
– नगरपालिका प्रत्येक वडाको सार्बजनिक स्थानमा खेल मैदान निर्माण गरिनेछ।
– नगरपालिका क्षेत्र भित्र न्यूनतम एक हजार दर्शक अट्ने सुबिधासम्पन रंगशाला निर्माण गरिनेछ ।
– नगर क्षेत्रमा योग भवन र जिम पार्कको निर्माणका लागी आबश्यक व्यबस्था गरिनेछ ।
धार्मिक, सांस्कृतिक र पर्यटन ः
– बुलबुले उद्यानको स्तर उन्नति गरी पर्यटकको महत्वपूर्ण गन्तब्यको रुपमा बिकास गर्न गुरुयोजना अनुसार निमार्ण सम्पन्न गरिनेछ ।
– वीरेन्द्रनगर क्षेत्रका महत्वपूर्ण धार्मिक तथा प्राकृतिक स्थलहरू काक्रेबिहार, देउती बज्यै मन्दिर, गोठीकाँडा, गर्गरे, उत्तरगंगा शिवालय मन्दिर र पाताल दरबारलाई पर्यटकीय स्थलका रुपमा बिकास गरिनेछ ।
– नगरक्षेत्रमा बसोबास गर्ने बिभिन्न समुदायका मानिसको मृत्यु संस्कारका लागि भेरी नदी, रानीघाट र सुब्बकुना जंगलमा छुट्टा छुट्टै दाह संस्कार घाट निमार्ण गरिनेछ।
– पर्यटन विकासको निम्ति विभिन्न क्षेत्रहरूको पहिचान गर्दै वीरेन्द्रनगरको वडा न. १,२,३,४,५ र ६मा पदमार्गको संभाव्यता अध्ययन् कार्यलाई अघि बढाइनेछ ।
– साहासिक पर्यटन अन्तर्गत पारागलाइडीङ र बन्जी जम्पिंगको सम्भाव्यताको अध्ययन गरी संचालन गरिनेछ ।
– नगरक्षेत्र भित्र बसोबास गर्ने हरेक बेरोजगार नागरिकलाई सीप र क्षमता अभिवृद्धि गरी रोजगारीको ग्यारेन्टी गरिनेछ ।
– आवश्यकता अनुसार विभिन्न समूह, समुदाय, मठमन्दिर र सामुदायिक भवनहरू निमार्ण गर्दै लगिनेछ ।
– नगर क्षेत्र भित्र बसोबास गर्ने थारु, खम्बा भोटे, मुस्लिम, गुरुङ र मगर लगायतका आदिवासी जनजातिहरूको पहिचान झल्कने कला, संस्कृति, रहनसहन, परम्पराहरूलाई सम्बर्द्धन र संरक्षण गर्नका लागि आवश्यक बजेटको प्रबन्ध गरिनेछ ।
प्रकोप न्यूनीकरण तथा फोहर व्यबस्थापन
– वीरेन्द्रनगर क्षेत्रमा हुन सक्ने सम्भावित प्राकृतिक प्रकोपबाट हुन् सक्ने सामाजिक, आर्थिक, भौतिक, मानवीय, र वातावरणीय प्रभावलाई न्यूनीकरण गर्न पूर्व योजना निर्माण गरिनेछ
– सम्भावित प्रकोपको जोखिम, अवस्था र प्रभावलाई पूर्व योजनाको कार्यान्वयनमा जोड दिइनेछ
– वीरेन्द्रनगरपालिका भित्रको फोहर व्यवस्थापनका लागि उपयुक्त स्थानमा बातावरण मैत्री ल्याण्ड फिल्ड साइडको व्यवस्थापन गरिनेछ ।
– नगरपालिकाले संकलित फोहरबाट कुहिनेबाट जैविक मल र नकुहिने फोहरलाई छुट्याएर पुनः प्रयोगका लागि आवश्यक प्रविधिको बिकास गरिनेछ ।

फरकबाटो २४ बैशाख २०७९, शनिबार २२:००