नवौं राष्ट्रिय खेलकुद प्रतियागितामा कर्णाली प्रदेशले २८ खेलमा भाग लिने

सुर्खेत । गण्डकी प्रदेशको पोखरामा हुने नवौं राष्ट्रिय खेलकुद प्रतियोगितामा कर्णाली प्रदेशले २८ खेलमा भाग लिने भएको छ ।

आगामी जेठ २२ गते देखि २८ गतेसम्म संचालन हुने नवौं राष्ट्रिय खेलकुद प्रतियोगितामा कर्णाली प्रदेशबाट विभिन्न २८ खेलमा सहभागिता गराउने गरी कर्णाली प्रदेश खेलकुद विकास परिषदले तयारी गरिरहेको कर्णाली प्रदेश खेलकुद विकास परिषदका सदस्य सचिव विश्वामित्र संज्यालले जानकारी दिए ।

सदस्य सचिव संज्यालका अनुसार अहिले कर्णाली प्रदेशमा विभिन्न खेलका खेलाडीहरु छनोटको प्रक्रिया चलिरहेको छ । छनोट भएका खेलाडीहरुलाई भने आगामी जेष्ठ २ गते देखि बन्द प्रशिक्षणमा राखिने छ ।

नवौँ राष्ट्रिय खेलकुद प्रतियोगितामा सहभागी गराइने खेलका खेलाडीहरुको बन्द प्रशिक्षणको लागी भने कर्णाली प्रदेश सरकारले एक करोडको बजेट व्यवस्थापन गर्ने भएको छ । बिहीबार कर्णाली प्रदेशका मुख्यमन्त्री जीवन बहादुर शाही र परिषदका सदस्य सचिव विश्वामित्र संज्यालको भेटका क्रममा कर्णाली प्रदेशले सहभागिता जनाउने खेलका खेलाडीहरुको लागी र बन्द प्रशिक्षणको लागी आवाश्यक बजेटको विषयमा पनि छलफल भएको थियो ।

पदक बिजयी खेलाडीहरुलाई प्रदेश सरकारले प्रोत्साहन स्वरुप पुरुस्कृत गर्ने

नवौं राष्ट्रिय खेलकुद प्रतियोगितामा पदक बिजयी खेलाडीहरुलाई कर्णाली प्रदेश सरकारले प्रोत्साहन स्वरुप पुरुस्कृत गर्ने भएको छ ।

प्रदेश सरकारले पुरुस्कृत गर्ने बिजयी खेलाडीहरुमा स्वर्ण पदक बिजयतालाई रु दुई लाख, रजत पदक बिजयतालाई एक लाख ५० हजार र कास्य पदक बिजयतालाई एक लाख प्रदेश प्रोत्साहन पुरस्कार पुरुस्कार दिने भएको हो ।

१० औं राष्ट्रिय खेलकुल प्रतियोगिता आयोजनाको लागी कर्णाली प्रदेशले गण्डकी प्रदेशबाट झण्डा लिने भएकोले कर्णाली प्रदेशबाट खेलाडी, प्रशिक्षक , व्यवस्थापक र पत्रकार गरी कर्णाली ६ सय जनाको सहभागिता रहने छ ।

‘१० औं राष्ट्रिय खेलकुद प्रतियोगिता कर्णाली प्रदेशले गर्ने ठुलो अबसर पाउने भन्दै कर्णाली प्रदेश खेलकुद विकास परिषद्का सदस्य सचिव विश्वामित्र संज्यालले खुशी व्यक्त गरे ।