सुर्खेत । स्थानीय तहको निर्वाचनमा सुर्खेतमा पाँच वटा राजनीतिक दलहरुले प्रमुख पदमा महिला उम्मेदवार बनाएका छन् । यही वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा सुर्खेतका नौ वटा स्थानीय तह मध्य छ वटा स्थानीय तहमा दश जना महिला उम्मेदवार छन् । यहाँका नौ वटा स्थानीय तहमा प्रमुख पदका लागि ७१ जनाको उम्मेदवारी परेको छ । त्यस मध्य १० जना महिला उम्मेदवार रहेका छन् ।
नेकपा एमालेले वीरेन्द्रनगर नगरपालिकाको प्रमुखमा मोहनमाया ढकाललाई उम्मेदवार बनाएको छ । ढकाल यस अघि नगर उपप्रमुख थिइन् । वीरेन्द्रनगरकै प्रमुखका लागि एकीकृत समाजवादी पार्टीले धन कुमारी जिसीलाई उम्मेदवार बनाएको छ । एकीकृत समाजवादीले लेकवेशी नगरपालिकामा पनि अध्यक्षका लागि टिका अधिकारीलाई उम्मेदवारी बनाएको छ ।
यस्तै गुर्भाकोट नगरपालिकाको प्रमुखमा दुई जना महिला उम्मेदवार छन् । नगरपालिकाको प्रमुखका लागि राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) बाट कलावती रेग्मी र एकीकृत समाजवादीबाट गौमाया वलीले उम्मेदवारी दिएका हुन् ।
यस्तै भेरीगंगा नगरपालिकाको प्रमुखमा नेकपा माओवादी केन्द्रले डल्लीकुमारी बुढाले उम्मेदवारीलाई उम्मेदवार बनाएको छ । माओवादी केन्द्रले सिम्ता गाउँपालिकामा पनि महिला उम्मेदवार बनाएको छ । सिम्ताको अध्यक्षमा माओवादी केन्द्रबाट ज्योति चन्दले उम्मेदवारी दिएकी हुन् ।
चौकुने गाउँपालिकाको अध्यक्षमा पनि दुई जना महिला उम्मेदवार छन् । गाउँपालिका अध्यक्ष पदका लागि नेपाली काँग्रेसबाट निर्मला सापकोटा र एकीकृत समाजवादीबाट रत्ना कुमारी बिसी उम्मेदवार छन् । चिङ्गाड गाउँपालिका, बराहताल गाउँपालिका र पञ्चपुरी नगरपालिकामा प्रमुख पदका लागि पुरुष मात्र उम्मेदवार छन् ।


फरकबाटो १४ बैशाख २०७९, बुधबार २०:५९