स्थानीय तह निर्वाचन : उम्मेदवार मनोनयनको संख्या १ लाख ३७ हजारभन्दा बढी

सुर्खेत । स्थानीय तह निर्वाचनका लागि देशभर उम्मेदवार मनोनयनको संख्या १ लाख ३७ हजार भन्दा बढी पुगेको छ ।

निर्वाचन आयोगले मंगलबार बिहानसम्म अद्यावधिक गरेको विवरण अनुसार देशभर सबै पदमा गरी १ लाख ३७ हजार ५८ जनाले मनोनयन दर्ता गराएका छन् । अद्यावधिक गर्ने कार्य चलिरहेकोले विवरण थपिने क्रम जारी छ ।

देशभरका २९३ नगरपालिकामा ३ हजार २७६ जनाले नगरप्रमुख (मेयर) पदमा उम्मेदवारी दिएका छन् । उपप्रमुख (उपमेयर) पदमा २ हजार ९ जनाको मनोनयन परेको छ ।

यस्तै ४६० गाउँपालिकामा अध्यक्षका लागि ३ हजार २६४ जनाको मनोनयन परेको छ । २ हजार २९७ जनाले उपाध्यक्षमा उम्मेदवारी दिएका छन् ।

स्थानीय तहका ३५ हजार २२१ पदमा यही वैशाख ३० गते हुने चुनावका लागि वैशाख ११ र १२ गते देशभर मनोनयन दर्ता गरिएको थियो ।