नवौं राष्ट्रिय खेलकुदका लागि प्रदेश तयार

काठमाडौं । सातवटै प्रदेश खेलकुद विकास परिषद्का सदस्य सचिवले नवौं राष्ट्रिय खेलकुदका लागि आफुहरु तयारी अवस्थामा रहेको बताएका छन् ।

नवौं राष्ट्रिय खेलकुद समन्वय समितिको पहिलो बैठकमा सातवटै प्रदेश खेलकुदका सदस्य सचिवले सरकारले घोषणा गरेको मितिमै प्रतियोगिता सम्पन्न गर्ने गरि अघि बढ्न आफुहरु तयारी अवस्थामा रहेको बताएका हुन् ।

लामो समयदेखि राष्ट्रिय प्रतियोगिता नहुँदा खेलाडीको भविष्य अन्यौलमा परेको उल्लेख गर्दै उनीहरुले जतिसक्दो चाँडो नवौं राष्ट्रिय खेलकुदलाई सम्पन्न गर्नुपर्ने धारणा राखेका हुन् ।

राष्ट्रिय खेलकुद परिषद् (राखेप)का सदस्य सचिव टंकलाल घिसिङले सात प्रदेशका खेलकुदका कार्यकारी प्रमुख, तीन विभागीय टिमका प्रतिनिधि र नेपाल ओलम्पिक कमिटि सहितको उपस्थितीमा नवौं राष्ट्रिय खेलकुदको सन्दर्भमा छलफल गरेका छन् ।

उनले नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता आयोजना गर्न सरकारले मिति घोषणा गरिसकेको उल्लेख गर्दै सबै प्रदेशबाट धारणा माग गरेका थिए । सरकारले जेठ २२ देखि २८ गतेसम्म गण्डकी प्रदेशमा नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता आयोजना गर्ने औपचारिक निर्णय गरिसकेको छ ।

बैठकमा सहभागी अधिकांश प्रदेशका सदस्य सचिवले सरकारले घोषणा गरेको मितिमै नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता सम्पन्न गर्ने गरि अघि बढ्न सुझाव दिएका थिए । उनीहरुले आफ्नो प्रदेश नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि तयार रहेको समेत जानकारी गराएका थिए ।

बागमती प्रदेश खेलकुद विकास परिषद्का सदस्य सचिव सुर्यलाल भण्डारीले निर्धारित मितिमै प्रतियोगिता सम्पन्न गर्ने गरि तयारी अघि बढाउन आग्रह गरे । उनले बागमती प्रदेशले पहिलो प्रदेश स्तरीय खेलकुद प्रतियोगिता सफलतापूर्वक सम्पन्न गरिसकेको जानकारी गराउँदै हप्तादिन भित्र खेलाडीलाई बन्द प्रशिक्षणमा राखेर नवौंको तयारीमा आफु जुट्ने बताएका थिए । बागमतीले समग्र प्रदेशमा पहिलो प्रदेश स्तरीय खेलकुद प्रतियोगिताको सफलतापूर्वक आयोजना गरिसकेको छ ।

कर्णाली प्रदेशमा सदस्य सचिव विश्वमित्र सञ्जेलले कर्णाली प्रदेशबाट नवौैं राष्ट्रिय प्रतियोगितामा उल्लेख्य सहभागीता रहने बताएका थिए । ‘प्रतियोगिता निर्धारित मितिमै हुनपर्छ । कर्णालीबाट समेत खेलाडीको सहभागीता राम्रो रहनेछ । नवौं राष्ट्रिय प्रतियोगिताका लागि कर्णाली तयारी अवस्थामा छ ।’ उनले बैठकमा भने ।

बैठकमा सूदुरपश्चिम प्रदेश खेलकुद परिषद्का सदस्य सचिव दीपक बहादुर सिंहले संघ र प्रदेश खेलकुद बीच समन्वयको आवश्यकता औल्याएका थिए । उनले नियमावलीमार्फत केन्द्रिय कार्यक्रमलाई प्रदेश खेलकुदका गतिविधिसँग जोड्न आवश्यकता रहेको बताए । सदस्य सचिव सिंहले चार वर्षदेखि राष्ट्रिय खेलकुद प्रतियोगिता हुन नसकेको उल्लेख गर्दै कुनैपनि हालतमा नवौं राष्ट्रिय खेलकुद सम्पन्न गर्नुपर्नेमा जोड दिएका थिए ।

बैठकमा अन्य प्रदेशका सदस्य सचिवले समेत सरकारले घोषणा गरेको मितिभित्र प्रतियोगिता सम्पन्न गर्न सबै जुट्नुपर्ने धारणा राखेका थिए । कार्यक्रमको समापन गर्दै राखेप सदस्य सचिव टंकलाल घिसिङ नवौं राष्ट्रिय खेलकुद निर्धारित समयमा हुने उल्लेख गर्दै तयारीमा जुट्न प्रदेश खेलकुद विकास परिषद्लाई आग्रह गरेका थिए ।