सुब्बाकुनामा ट्राफिक सचेतना सम्बन्धि डिजिटल बोर्ड

सुर्खेत । वीरेन्द्रनगर ११ को सुब्बाकुना सुर्खेतमा ट्राफिक सचेतना सम्बन्धि डिजिटल बोर्ड स्थापना गरिएको छ । जिल्ला ट्राफिक प्रहरी कार्यालय सुर्खेतको पहलमा उक्त बोर्ड स्थापना गरिएको हो ।

कर्णाली प्रदेश खेलकुद परिषद्को ३ लाख ३७ हजार ९ सय ३७ रुपैया लगानीमा उक्त बोर्ड स्थापना गरिएको छ । प्रदेशको राजधानी वीरेन्द्रनगर सुर्खेतमा डिजिटल प्रविधिको प्रयोग गरि ट्राफिक सचेतना फैलाउनका लागि उक्त बोर्ड राखिएको जिल्ला ट्राफिक प्रहरी कार्यालय सुर्खेतका प्रमुख उपेन्द्रप्रसाद आचार्यले जानकारी दिए ।

बोर्ड सुब्बाकुनामा नै राख्नुको कारण बोर्डको सुरक्षा र राजधानी प्रवेशगर्ने मुख्य नाका भएको आचार्यले बताए । ‘सुब्बाकुना चेकपोष्ट पनि हो’ उनले भने “प्रहरी चेकि¨ हुँदैगर्दा चालक र यात्रुले उक्त बोर्डमा ध्यान दिऊन् भन्ने उदेश्य हाम्रो हो ।”

सुब्बाकुनामा स्थापना गरिएको बोर्डको आज उद्घाटन गरिएको छ । जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रमुख उपेन्द्रप्रसाद आचार्यको अध्यक्षता तथा प्रदेश खेलकुद परिषद् कर्णालीका सदस्य सचिव विश्वमित्र सन्ज्याल को विशेष आथित्यतामा उद्घाटन कार्यक्रम सम्पन्न भएको हो ।

कार्यक्रममा बोल्दै प्रदेश खेलकुद परिषद् कर्णालीका सदस्य सचिव विश्वमित्र सन्ज्यालले वीरेन्द्रनगरमा ट्राफिक सचेतना सम्बन्धि डिजिटल बोर्ड राख्नुपर्ने आवश्यकता रहेकोले उक्त बोर्ड निर्माण गरि सुब्बाकुनामा राखिएको बताए ।

उनले डिजिटल बोर्ड राख्नका लागि जिल्ला ट्राफिक प्रहरी कार्यालयबाट प्रस्ताव आएको र आवश्यकता समेत भएकोले उक्त काम गरिएको सुनाए । बोर्डको सुरक्षाको जिम्मा जिल्ला ट्राफिक प्रहरी कार्यालयले नै लिने सन्ज्यालले बताएका छन् ।

बोर्डको उद्घाटन कार्यक्रममा जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रहरी उपरिक्षक पदमबहादुर बिष्ट, यातायात व्यवस्था कार्यालय सुर्खेतका प्रमुख आनन्दप्रसाद चपाई, सडक डिभिजन सुर्खेतका प्रमुख ईं अविमन दासमुल्मी, प्रदेश लेखा नियन्त्रक मानबहादुर बम लगाएतको उपस्थिती रहेको थियो ।