
सुर्खेत । निर्वाचनका समयमा पत्रकारहरुलाई निष्पक्ष भएर काम गर्न प्रेश काउन्सिल नेपालका अध्यक्ष बालकृष्ण बस्नेतले आग्रह गरेका छन् । मंगलबारदेखी सुर्खेतमा सञ्चालित पत्रकार आचारसंहिता प्रशिक्षक प्रशिक्षण कार्यक्रमकाको समापन कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् ।
‘हामी कस्तो पत्रकार बन्ने ? उनले प्रश्न गर्दै भने “ हामीले सिकाउने पत्रकारलाई कस्तो कुरा सिकाउने भन्ने कुरा पनि महत्वपुर्ण छ । हामी आँफैमा स्वच्छ, विवादरहित र असल आचारको बने मात्रै अरुको विषयमा लेख्न र टिकाटिप्पणी गर्न सकिन्छ ।”
प्रेश काउन्सिलले अब संधै जिल्लाहरुमा सिकाउँदै हिड्न नसक्ने भन्दै उनले कर्णालीमै उत्पादन भएका प्रशिक्षकहरुले नै अन्य पत्रकारहरुलाई आचारसंहिता सिकाउने जिम्मेवारी पुरा गर्नुपर्ने तर्क गरे ।
निर्वाचनको एउटा महाअिभयान भएको र सञ्चारकर्मीहरु, पत्रकार महासंघ र प्रेश काउन्सिलको समेत निर्वाचन आचारसंहिताको अनुगमन गर्ने दायित्व रहेको उनले सुनाए । पत्रकार संधै तटस्थ र निष्पक्ष भएर सञ्चारकर्म गर्नुपर्ने उनले तर्क गरे ।
सुचना तथा प्रशारण विभागका महानिर्देशक ई.गोगनबहादुर हमालले पत्रकारितामा सिकाई निरन्तर रहने बताए । पत्रकारहरुले कानुनी विषयबस्तुको ज्ञान राख्न जरुरी भएको उनले सुनाए ।
कार्यक्रममा सम्बोधन गर्दै नेपाल पत्रकार महासंघ केन्द्रिय कोषाअध्यक्ष कलेन्द्र सेजुवाल प्रेश स्वतन्त्रताको ठुलो रक्षक नै पत्रकार आचारसंहिता भएको बताए । पत्रकार आचारसंहिताले विशेष परिस्थितीमा पनि सहि रुपमा पत्रकारिता गर्न अभिप्रेरित गर्ने उनले सुनाए ।
नेपाल पत्रकार महासंघले समेत निर्वाचनलाई केन्द्रित गरि निर्वाचन सम्बन्धि रिपोर्टिङ कसरी गर्ने भन्ने विषयमा कार्यक्रमको आयोजना गर्ने तयारी गरेको भन्दै । सेजुवालले पत्रकारले कतै गलत गरे महासंघले आवाज उठाउने बताए ।
दुईदिन सम्म सञ्चालन भएको कार्यक्रममा प्रेश काउन्सिल नेपालका अध्यक्ष बालकृष्ण बस्नेत, सुचना तथा प्रशारण विभागका महानिर्देशक ई.गोगन बहादुर हमाल, नेपाल बार एशोसियसन नेपालका उपाअध्यक्ष रक्षा बस्याल, प्रेश काउन्सिल नेपालका सदस्य सरद अधिकारी, प्रेश काउन्सिल नेपालका बरिष्ठ प्रशासकिय अधिकृत दिपक खनाल लगाएतले पत्रकार आचारसंहितसंग जोडिएका विभिन्न विषयमा प्रस्तुतीकरण राखेका थिए ।

फरकबाटो २३ चैत्र २०७८, बुधबार १९:२३