
सुर्खेत । आँखाको उपचारमा प्राथमिकता दिनुपर्ने एक कार्यक्रमका सहभागीले बताएका छन् । आँखाजस्तो संवेदनशिल अंगको उपचारमा स्वास्थ्य निकाय बढि संवेदनशिल हुनुपर्ने उनीहरुले सुझाएका हुन् ।
विश्व दृष्टि दिवसको अवसरमा आइतबार आयोजित एक कार्यक्रमका सहभागीले आँखाको उपचारलाई प्राथमिकता दिनुपर्ने बताएका हुन् । कार्यक्रममा सहभागी दुष्टिविहिन मायाप्रसाद जैशीले नेपाल सरकारको स्वास्थ्य बिमा कार्यक्रममा समेत दृष्टिविहिनहरु नसमेटिएको र आँखा अस्पतालमा समेत आँफुहरु प्राथमिकतामा नपरेको गुनासो गरे । ‘मेरो स्वास्थ्य बिमा हुन सकेको छैन ।, उनले भने‘ नियमित उपचार गर्नुपर्ने अवस्थामा आँखा अस्पतालले समेत प्राथमिकतामा राखेको छैन ।,
जनस्वास्थ्य सेवा कार्यालयका प्रमुख चेतननिधि वाग्लेले आँखा स्वास्थ्य उपचारलाई कम प्राथमिकता दिइएको र आगामी दिनमा यसलाई बढी प्राथमिकता दिनुपर्ने उल्लेख गरे । उनले स्थानीय, प्रदेश र साझेदार निकायले समन्वय गरेर आँखा उपचार सेवालाई सहज बनाउनुपर्नेमा जोड दिएका थिए ।
सामाजिक विकास मन्त्रालय, सुर्खेत आँखा अस्पताल र नेत्रहिन संघ सुर्खेतले आयोजना गरेको कार्यक्रममा सहभागीहरुले आँखा उपचारलाई सबैले प्राथमिकता दिनुपर्ने बताएका हुन् ।
कार्यक्रममा सुर्खेत आँखा अस्पतालका डाक्टर शक्ति सुवेदीले आँखा अस्पतालमा प्रायःजसो उपचार निःशुल्क भएको जानकारी दिए । उनले स्वास्थ्य बिमाले पनि आँखाको उपचार गर्न सकिने हुँदा त्यसतर्फ ध्यान दिन जोड दिए ।
सामाजिक विकास मन्त्रालयका स्वास्थ्य सेवा महाशाखा प्रमुख बृषवहादुर शाहीले आँखा अस्पतालको स्तर बृद्धि र आँखाको स्वास्थ्य प्रवद्र्धन कार्यक्रम गर्न सकिने बताए । उनले आँखाको क्षेत्रमा राम्रो काम गरेका निजी क्षेत्रलाई पनि सरकारी सहयोग गरिने बताए ।
सुर्खेत आँखा अस्पताल समितिका अध्यक्ष डा. दीपबहादुर रावलले आँखा स्वास्थ्यलाई प्राथमिकता दिन सुझाव दिदैं प्रदेशको एकमात्र आँखा अस्पताललाई स्तरोन्नति गर्न आग्रह गरे । उनले हाल आँखाको उपचार गर्न नेपालगन्ज, काठमाडौं जानुपर्ने अवस्थाको अन्त्य भएको जानकारी दिँदै यसको गुणस्तरियतामा समेत जोड दिनुपर्ने बताए ।

फरकबाटो ७ कार्तिक २०७८, आईतवार १८:५४