थाइ क्लबको सामना गर्दै नेपाल

काठमाडौं । नेपाली राष्ट्रिय फुटबल टोलीले मैत्रीपूर्ण फुटबलमा आज आइतबार थाइल्याण्डको क्लब  चोनबरी एफसीसँग प्रतिस्पर्धा गर्दैछ ।

नेपालले चोनबरीसँग उसैको घरेलु मैदानमा प्रतिस्पर्धा गर्नेछ । नेपाल र चोनबरीबीचको खेल नेपाली समय अनुसार ५:४५ बजे सुरु हुनेछ । थाइ क्लबविरुद्ध मैदान उत्रदा नेपाल जित निकाल्ने योजनामा हुनेछ । घरेलु टोली पनि नेपाललाई हराउने उदेश्यले मैदान उत्रनेछ ।

नेपालले यस अघि थाइल्याण्डसँग मैत्रीपूर्ण खेल खेलेको थियो । जसमा नेपाल २-० ले पराजित भएको थियो । एएफसी एसियन कप छनोट अन्तर्गत तेस्रो चरणको खेल अघि नेपाल मैत्रीपूर्ण खेल्न थाइल्याण्ड गएको हो ।

एसियन कप छनोटमा नेपाल  समूह ‘ए’ मा रहेको छ । नेपाल रहेको समूहमा कुवेत, इन्डोनेसिया र जोर्डन रहेका छन् । नेपालको समूहको छनोट खेलहरु कुवेतमा आयोजना हुनेछ । छनोट खेलहरु जुन ८ देखि १४ सम्म हुनेछ ।

नेपालले जुन ८ मा जोर्डनसँग खेल्दै छनोटको सुरुआत गर्नेछ । दोस्रो खेलमा नेपालले जुन ११ मा कुवेतको सामना गर्नेछ । नेपालले जुन १४ मा इन्डोनेसियाविरुद्ध  खेल्नेछ ।