नेपाल र थाइल्याण्ड आज भिड्दै

काठमाडौं । नेपाली राष्ट्रिय फुटबल टोलीले अन्तराष्ट्रिय मैत्रीपूर्ण फुटबलमा आज बिहीबार थाइल्याण्डसँग प्रतिस्पर्धा गर्दैछ । नेपालले चोनबरीमा घरेलु टोली थाइल्याण्डको सामना गर्नेछ । खेल नेपाली समय अनुसार ५:४५ बजे सुरु हुनेछ ।

थाइल्याण्डविरुद्ध म्मैदन उत्रदा नेपाल घरेलु टोलीलाई कडा टक्कर दिने योजनामा हुनेछ । यस अघिका दुई भेटमा भने नेपालविरुद्ध थाइल्याण्ड विजयी भएको थियो ।

एएफसी एसियन कप छनोट अन्तर्गत तेस्रो चरणको खेल अघि नेपालले फिफा वरीयतामा आफु भन्दा माथि रहेको थाइल्याण्डसँग खेल्न लागेको हो ।

यस्तै नेपालले थाइल्याण्डको क्लब चोनबरी एफसीसँग पनि मैत्रीपूर्ण खेल खेल्नेछ । उक्त खेल आइतबार हुनेछ । एसियन कप छनोटमा नेपाल  समूह ‘ए’ मा रहेको छ । नेपाल रहेको समूहमा कुवेत, इन्डोनेसिया र जोर्डन रहेका छन् ।

नेपालको समूहको छनोट खेलहरु कुवेतमा आयोजना हुनेछ । छनोट खेलहरु जुन ८ देखि १४ सम्म हुनेछ । नेपालले जुन ८ मा जोर्डनसँग खेल्दै छनोटको सुरुआत गर्नेछ । दोस्रो खेलमा नेपालले जुन ११ मा कुवेतको सामना गर्नेछ । नेपालले जुन १४ मा इन्डोनेसियाविरुद्ध  खेल्नेछ ।