राष्ट्रिय महिला लिग : विराटनगरको तयारी तीव्र

इलाम । दोश्रो राष्ट्रिय महिला लिग फुटबलका लागि विराटनगर महानगरपालिकाले बन्द प्रशिक्षण तीव्र रुपमा अघि बढाएको छ । चैत्र १० गतेबाट चितवनमा हुने पहिलो चरणको प्रतियोगिताका लागि विराटनगरले विगत डेढ महिनाबाट १८ जना खेलाडीलाई बन्द प्रशिक्षणमा राखेको हो ।

गत संस्करणको प्रतियोगितामा पाँचौ स्थानमा रहेको विराटनगरले यस वर्ष दोश्रो स्थानमा रहने लक्ष्य राखेको छ । दैनिक बिहान ४ घण्टा अभ्यासरत खेलाडी प्रतियोगितामा महानगरलाई उपाधि नजिक पु¥याउने लक्ष्यले राखेको गोलरक्षक एवम कप्तान कल्पना कार्की बताउँछिन् ।

उनका अनुसार गत वर्षको तुलनामा यस वर्ष नतिजामा सुधार आउने अपेक्षा छ । कल्पनालाई गोलपोष्टमा साथ दिन सोनु लामा र करिना धिमाल तयार अवस्थामा छन् ।

त्यसैगरी, टोलीले भारतको पश्चिम बंगाल र झारखण्डबाट समेत ४ जना भारतीय खेलाडीलाई मैदानमा उतार्ने तयारी गरेको छ । टोलीलाई पारस चौधरी र गोलरक्षकको प्रशिक्षकमा करण कार्कीले अभ्यस्त बनाउँदै छन् ।

मुख्य प्रशिक्षक चौधरीका अनुसार टोलीको तयारी सोचे अनुसार भइरहेको छ । प्रतियोगिताका लागि अभ्यास गर्न महानगरपालिकाले राम्रो समय दिँदा नतिजा पनि अपेक्षाकृत आउनेमा उनी विश्वस्त देखिन्छन् ।

गत संस्करणमा विराटनगरले १२ खेलमा ५ जित र १ बराबरी नतिजा निकाल्दै १६ अंक बटुलेको थियो ।

प्रशिक्षक चौधरीका अनुसार टोलीमा मिडफिल्ड र फ्रन्ट लाइनमा ७ जना, डिफेन्समा  ८ र गोलरक्षकको भूमिकामा ३ जनासहित टोली सन्तुलित रहनेछ ।

टोली महानगरबाट कविता खड्का र अपेक्षा गिरीसहित मोरङका अन्य क्षेत्रबाट ८, धनगढीबाट ४, सर्लाहीबाट ३, धनकुटा, सुनसरी, उदयपुरबाट समान १ र भारतबाट ४ जना खेलाडी टोलीमा अटाएका छन् ।

टोलीमा रहेका विद्या राना र दिपिसा लामाले १८ वर्षमुनिको साफ च्याम्पियन्सिपको प्रारम्भिक टोलीमा रहँदै प्रशिक्षण गरेका थिए ।

विभागीय टोली नेपाल पुलिससँग चैत ११ गते खेल्दै विराटनगरले प्रतियोगिता सुरुवात गर्दैछ यसअघि पुलिसको टोलीलाई पराजित गरेको विराटनगरले मैदानमा दबाब बनाउन सफल हुनेमा विश्वास लिएको छ ।

प्रतियोगिताका लागि टोलीको सम्पूर्ण तयारी खर्च महानगरपालिकाले व्यहोरेको छ । होम एन्ड अवेका आधारमा हुने प्रतियोगिताको पहिलो चरणको खेल चितवन र दोस्रो चरणको खेल विराटनगरमा हुनेछ ।

प्रतियोगितामा महानगरसहित तीन विभागीय टोली, स्याङ्जाको वालिङ नगरपालिका, चन्द्रपुर नगरपालिका, धनगढी उपमहानगरपालिका र ललितपुर महानगरपालिकाको सहभागिता रहनेछ ।

प्रतियोगिताको विजेता टोलीले २० लाख रुपैयाँ र ट्रफी प्राप्त गर्नेछ। त्यसैगरी, दोस्रो हुने टोलीले १० लाख, तेस्रो स्थानमा रहने टोलीले ५ लाख रुपैयाँ प्राप्त गर्नेछ।