महिला विश्वकपः अष्ट्रेलियाको लगातार दोस्रो जित

काठमाडौं । आईसीसी महिला क्रिकेट विश्वकप अन्तर्गत अष्ट्रेलियाले लगातार दोस्रो जित दर्ता गरेको छ । न्यूजिल्यान्डको माउन्ट मान्गुनाईमा मगलबार भएको खेलमा अष्ट्रेलियाले पाकिस्तानलाई ७ विकेटले पराजित गरेको हो ।

जितका लागि चाहिएको १ सय ९१ रनको लक्ष्य अष्ट्रेलियाले ३४ दशमलब ३ ओभरमा मात्र ३ विकेट गुमाएर पुरा गर्यो । अष्ट्रेलियालाई जित दिलाउन अलायसा हेलीले सर्वाधिक ७२ रनको योगदान गरिन् ।

कप्तान मेग लानिङले ३५ र राचायल हेयनेसले ३४ रन जोडे । पाकिस्तानका लागि ओमाइमा सोहेलले सर्वाधिक २ तथा नसरा सन्धुले एक विकेट लिए ।

यस अघि टस हारेर ब्याटिङ गरेको पाकिस्तानले निर्धारित ५० ओभरमा ६ विकेट गुमाएर १ सय ९० रन बनाए । अष्ट्रेलियाका लागि अलाना किंगले सर्वाधिक २ विकेट हात पारिन् ।

मेगन स्चुट, इलियस पेरी, अमान्डा जेड वेलिङटन र निकोला क्यारीले एक–एक विकेट लिए । प्रतियोगिता अन्तर्गत पाकिस्तानको यो लगातार दोस्रो पराजय हो ।