नेपालमा २० फन्का लगाएको कतार एअरवेजको जहाज बङ्गलादेश ‘डाइभर्ट’

काठमाण्डाै । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरणका लागि नेपालको आकाशमा २० फन्का लगाएको कतार एअरवेजको जहाज बङ्गलादेश डाइभर्ट भएको छ ।

त्रिभुवन विमानस्थलमा भइरहेको परीक्षण उडान अर्थात् ‘क्यालिब्रेशन फ्लाइट’ का कारण जहाजले बारा र ललितपुरको आकाशमाथि २० फन्का लगाएको थियो । त्यत्तिञ्जेल पनि अवतरणको पालो नआएपछि जहाज बङ्गलादेशको ढाका पुगेको छ ।

दोहाबाट काठमाण्डौ आएको जहाज दिउँसो २ बजेर ३५ मिनेटमा अवतरण गर्ने तालिका थियो । आजै कतारबाटै आएको अर्को जहाजले पनि १७ फन्का लगाएर काठमाण्डौमा अवतरणको अनुमति पाएको थियो ।

क्यालिब्रेशन फ्लाइटका कारण अरू अन्तर्राष्ट्रिय र आन्तरिक उडान पनि प्रभावित भएका छन् । अहिले विमानस्थलमा जहाजको उडान र अवतरण सुरु भइसकेको छ ।