
बागमती । बागमती प्रदेशकी मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले आज बिहीबार विश्वासको मत लिँदै छिन् ।
मुख्यमन्त्री शाक्यले विश्वासको मतका लागि गएको असोज २४ गते प्रदेशसभामा प्रस्ताव पेश गरेकी थिइन् । विश्वासको मतसम्बन्धी प्रस्ताव बिहीबार प्रदेशसभामा निर्णयार्थ प्रस्तुत हुनेछ । मुख्यमन्त्री शाक्यले विश्वासको मत पाउने सम्भावना कम छ ।
शाक्यले गएको भदौ २ गते नेपालको पहिलो महिला मुख्यमन्त्रीका रूपमा शपथ लिएकी हुन् । नेकपा एमाले विभाजन भएर नेकपा (एकीकृत समाजवादी) पार्टी गठन भएपछि उनले संवैधानिक व्यवस्थाअनुसार विश्वासको मत लिनुपर्ने भएको हो ।
सत्ता लम्ब्याउन प्रदेशसभाको अधिवेशन हतारोमा स्थगित गरे पनि दल विभाजन भएको मितिले ३० दिनभित्र सदनमा विश्वासको मत लिनुपर्ने कानुनी व्यवस्थाले शाक्यलाई बाध्य बनाएको हो ।
बागमती प्रदेशमा सभामुखसहित १०९ सांसद छन् । एमालेका तर्फबाट एकल बहुमतका आधारमा शाक्य मुख्यमन्त्री बनेकी थिइन् । उनी मुख्यमन्त्री भएसँगै एमाले विभाजन भएर गठन भएको नेकपा (एकीकृत समाजवादी) मा १३ जना सांसद छन्। प्रदेशसभामा अहिले एमालेका ४३ सांसद छन् । शाक्यलाई सरकार टिकाउन ५५ मत आवश्यक पर्छ ।

फरकबाटो ४ कार्तिक २०७८, बिहीबार ०७:५५