रुसको आक्रमणबाट युक्रेनको उत्तर–पूर्वी सहरमा ७० युक्रेनी सैनिकको ज्यान गयो

एजेन्सी । रुसको आक्रमणबाट युक्रेनको उत्तर–पूर्वी सहर ओख्तिर्कामा ७० युक्रेनी सैनिकको ज्यान गएको छ ।

रुसी तोपले युक्रेनका सेनाको एउटा युनिट नै ध्वस्त पारेको बीबीसीले  जनाएको छ । उद्दारकर्ता तथा स्वयम्सेवकहरुले भग्नावशेषबाट शव निकाल्ने प्रयास गरिरहेका छन् ।

ज्यान गुमाएका ७० सैनिकको अन्त्येष्टिका लागि चिहान बनाउने तयारी भइरहेको स्थानीय अधिकारीलाई उदृत गर्दै खबरमा उल्लेख गरिएको छ । रुसले आज पनि युक्रेनमा आक्रमणलाई निरन्तरता दिएको छ ।

रुसी सेनाले युक्रेनी नागरिकलाई समेत निसाना बनाइरहेका युक्रेनी सेनाले जनाएको छ । यस्तै, रुसले ठूलो मात्रामा हातहतियारसहित आफ्ना बख्तरबन्द गाडीहरु युक्रेनको राजाधानी किएभतर्फ पठाएको छ । रुसी बख्तरबन्द गाडीको लाइन ४० माइल अर्थात ६४ किलोमिटर भन्दा लामो रहेको जनाइएको छ ।

यस्तै रुसले आफ्नो स्थल सैनिक र लडाकु हेलिकप्टर बेलारुसको दक्षिणी क्षेत्रमा तैनाथ गरेको पनि नयाँ तस्बिरमा देखिएको बीबीसीले जनाएको छ ।