आईपीएलको अक्सन आज, सन्दीपलाई कुन टिमले अनुबन्ध गर्ला ?

काठमाण्डाै । इन्डियन प्रिमियर लिग आईपीएलको मेगा अक्सन भारतको बेङ्ग्लोरमा आज र भोलि दुई दिन हुँदैछ ।

अक्सनमा ३ सय ७८ भारतीय र २ सय २२ विदेशी खेलाडी रहेका छन् । नेपालबाट राष्ट्रिय टोलीका कप्तान सन्दीप लामिछाने मात्र अक्सनमा समावेश छन् । उनले अक्सनमा आफ्नो न्यूनतम मूल्य ४० लाख भारतीय रुपैयाँ तोकेका छन् ।

सन्दीपसहित कुल १५ खेलाडीले अक्सनका लागि नाम दर्ता गरे पनि लामिछाने मात्र छनोटमा समावेश भएका हुन् । अक्सनमा एक टोलीले बढीमा २५ र कम्तीमा १८ खेलाडी किन्नुपर्ने हुन्छ ।

एक टोलीले ९० करोडभन्दा बढी खर्चिन पाउने छैनन् । यो सिजनमा दुई नयाँ फ्रेन्चाइज टोली गुजरात टाइटन्स र लखनऊ सुपर जायन्ट थपिएका छन् । यसअघि सन् २०१८ देखि २०२० सम्म दिल्ली क्यापिटल्समा रहँदै सन्दीपले ९ खेलमा १३ विकेट लिएका थिए ।

गएको सिजनको मिनी अक्सनमा उनलाई कुनै पनि टिमले अनुबन्ध गरेनन् । नेपाली राष्ट्रिय क्रिकेट टोलीले लामिछानेको कप्तानीमा ओमानमा चार देशीय टी–२० श्रृङ्खला खेलिरहेको छ ।