आज महानवमी : दुर्गा भवानीको पूजा आराधना गरी मनाइँदै

सुर्खेत । दशैँको नवौँ दिन महानवमी पर्व आज हर्षोल्लासका साथ दुर्गा भवानीको पूजा आराधना गरी मनाइँदैछ ।

नवरात्रको अन्तिम दिन आज पनि दुर्गा पूजा गरी घटस्थापनाका दिनमा राखिएको जमरा विभिन्न शक्तिपीठमा लगेर चढाइन्छ । दशैँघर र कोत लगायत विभिन्न देवी मन्दिर र शक्तिपीठमा दुर्गा भवानीको विशेष पूजा हुन्छ ।

महानवमीका अवसरमा कोतहरूमा हर्षबढाइँका साथ कोतपूजा र निशानापूजा पनि गरिन्छ । हनुमानढोका दरबारमा रहेको वर्षमा एक पटक महानवमीका दिन मात्र खुल्ने तलेजु भवानीको मन्दिर पनि आजैको दिन खुल्ने गर्दछ ।

कोरोनाका कारण गएको वर्ष बन्द गरिएको यो मन्दिर यस वर्ष खुला गरेर भक्तजनलाई दर्शन गराउने तयारी पूरा भएको हनुमानढोका दरबार हेरचाह अड्डाले जनाएको छ ।