विन्टर ओलम्पिकमा नेपालको सहभागीता नहुने

काठमाडौं । विन्टर ओलम्पिकमा नेपालको सहभागीता नहुने भएको छ ।  चीनमा अर्को महिना सुरु हुने विन्टर ओलम्पिकमा नेपालबाट सहभागीता नहुने पक्का भएको हो । छनोट र कोटामा समेत खेलाडी पर्न नसकेपछि चीनले पहिलो पटक आयोजना गर्न लागेको विन्टर ओलम्पिकमा नेपालको सहभागीता शुन्य हुने भएको हो ।

नेपाल ओलम्पिक कमिटी (एनओसी)का प्रमुख कार्यकारी अधिकृत (सिईयो) चतुरानन्द वैद्यले विन्टर ओलम्पिकमा नेपालको सहभागीता नरहने पुष्टि गरे । ‘यस पटक कोटा पनि पाएनौं । कोभिडका कारण खेलाडीले छनोट खेल समेत पुरा गर्न पाएनन् ।’ उनले भने, ‘खेलाडी सहभागी नहुने भएपछि नेपालको सहभागीता नहुने भएको हो ।’

खेलाडी सहभागी नहुने भएपछि विन्टर ओलम्पिकमा सम्बन्धित देशका पदाधिकारी समेत सहभागी हुन पाउदैनन् । सोही कारण यस वर्षको विन्टर ओलम्पिकमा नेपालको सहभागीता शुन्य देखिने भएको हो ।

‘विन्टर ओलम्पिकमा छनोटनै पार गरेर जानपर्छ । छनोटमा अंक बटुलेका केही खेलाडी कोटामा समेत पर्न सक्छन् । तर यस पटक खेलाडीले तय भएका खेल समेत खेल्न पाएनन् ।’ वैद्यले भने ।

विन्टर ओलम्पिक युरोपका देशको चर्को प्रतिस्पर्धा हुने गर्छ । पूर्वाधार र प्रतियोगिताको अभावमा विन्टर प्रतियोगिता नेपालमा खासै हुदैनन् । गत आईतबारसम्म प्रतियोगितामा खेलाडी दर्ताको समय निर्धारण गरेको थियो । एनओसीले कोटामार्फत खेलाडी सहभागीताको प्रयास गरेको थियो ।

यस वर्षको विन्टर ओलम्पिक फेब्रुअरी ४ देखि २० सम्म चीनको बेईजिङमा सञ्चालन हुदैछ । चीनले पहिलो पटक विन्टर ओलम्पिक आयोजना गर्न लागेको हो । सन् २०१५ मा कोलालाम्पुरमा बसेको आईओसीको १ सय २८ औं बैठकले बेईजिङले प्रतियोगिता आयोजना गर्ने निश्चित गरेको थियो । समर र विन्टर ओलम्पिक आयोजना गर्ने बेईजिङ विश्वको पहिलो शहर बनेको छ ।