जिल्ला अधिवेशन उद्घाटन गर्दै ओली भन्छन्ः सहमतिलाई जोड दिऔं

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले भर्चुअल रूपमा जिल्ला अधिवेशन उद्घाटन गरेका छन्। केन्द्रीय कार्यालय थापाथलीबाट आज ६३ जिल्ला अधिवेशन उद्घाटन गर्दै उनले सहमतिमा जोड दिएका हुन्। ‘हामीले हरेक समयमा सहमतिलाई जोड दिएका छौं,’ अध्यक्ष ओलीले भने, ‘सकेसम्म सहमति र एकतावद्ध भएर मन नखुम्च्याइँकन सहमतिमा पुग्न र अगाडि बढ्न म आग्रह गर्दछु।’

उनले सहमति नभए निर्वाचनमा जान पनि आग्रह गरेका छन्। सबै मिलेर अधिवेशन गर्दा नै चुनौतीहरू सामना गर्न सकिने उनको भनाइ थियो। एमालेले आज अधिवेशन हुन नसकेका १४ जिल्लामा पछि अधिवेशन गर्ने बताएको छ। गत मंसिरमा महाधिवेशन गरेको एमालेले जिल्ला अधिवेशन आज र प्रदेश अधिवेशन माघमा गर्ने तयारी गरेको छ। आज अधिवेशन हुन नसकेका ठाउँमा केही दिनमा अधिवेशन गरिने ओलीको भनाइ थियो।