सबै नागरिकलाई खोप उपलब्ध गराउन सरकार लागिरहेको छ : स्वास्थ्य राज्यमन्त्री खापुङ

सुर्खेत । स्वास्थ्य राज्यमन्त्री भवानी प्रसाद खापुङले कोरोना विरुद्धको खोप अभियानलाई सफलतापूर्वक सम्पन्न गर्न दत्तचित्त भएर लागेको बताएका छन् ।

शुक्रबार प्रदेश स्वास्थ्य सेवा निर्देशनालयले आयोजना गरेको छलफल कार्यक्रममा बोल्दै राज्यमन्त्री खापुङले सबैको पहुँचमा खोप पु¥याउन सबै आआफनो ठाउँमा जिम्मेवार भएर अघि बढ्नुपर्नेमा जोड दिए । कोरोना नियन्त्रण तथा रोकथाममा सबैको भूमिका महत्वपूर्ण रहेको उनको भनाई छ।

उनले खोप अभियानमा अझै पनि सोचे अनुसार प्रगति हुन नसकेको भन्दै खोप अनिवार्य छ भनेर बुझाउन आवश्यक रहेको बताए । उनले भने, ‘खोप अभियानमा कम उत्साह रहेको पाइयो ।  खोपको उपयोगिताको बारेमा बुझाउन र यो अनिवार्य हो भनेर सचेतना जगाउन आवश्यक रहेको छ । ’

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रमुम विशषज्ञ श्याम सुन्दर यादवले खोप सम्बन्धी जनचेतना फैलाउन आवश्यक रहेको बताउँदै यसमा स्थानीय सरकार सक्रिय हुनुपर्ने बताए ।

उनले यस कार्यमा स्वास्थ्यकर्मीहरुको महत्वपूर्ण भूमिका रहेको बताए । ‘कोरोनाले विश्वलाई नै आक्रान्त पारेको छ । अझै पनि नागरिकहरुले खोप नलगाएको पाइएको छ । सचेतना बढाउने र सहजिकरण गर्न आवश्यक छ । उहाँहरुलाई खोपले सुरक्षा दिन्छ र बचाउन सकिन्छ भन्ने कुरा बुझाउन आवश्यक छ । ’ उनले अब सरकारले पाँचदेखि ११ वर्ष उमेर समूहका लागि पनि छिट्टै खोप लगाउँने व्यवस्था गर्ने बताए ।