
कैलाशको शिर
कर्नालीको तिर
यी एकआपसमा छन् अन्तर्निहित
गुँरासको थुङ्गा
एक्काइसौं शताब्दीको
यश विहानीमा टेकेर
इतिहासको उत्खनन गर्दैछन्
कर्नालीका मान्ठ
जुन माटोमा जन्मेका थिए देवताहरु
अर्थात् महादेउ, झादेउ,
मष्टोसहित बाह्रदेउ
त्यही माटोमा फुले, फले ।
यलम्बर , नागराज र भैरवनाथहरु हुम्ला हुँदै आया
जहाँ जुम्ल्याहा पहाड छन्
वा तिला र हिमा नदीहरु
सिंजापति कोट होस्
वा विराट दरबारको भग्नावशेष
वा स्वर्गकी अप्सरा उपमा पाएकी
रारा हुन्
जति अग्लो टोप्लाको लेक हो
त्यति नै अग्ला मारघोर र नारा लेकहरु छन्
हो! यिनै लेकमा उभिएर चारैदिशा हेर्दा
लाग्छ यो हिमवत् खण्डको एउटा गन्तव्य हो ।
यहीँ गन्तव्य भेट्न मान्ठहरु
आफुलाई बिर्सिएर
आफ्नै सुगन्ध खोज्दै
कस्तुरीझैँ भौतारिरहेका छन्
दुधे दहमा पौडी खेल्दै
नुन, सुन र रत्नको खानी चिन्दै
चामलको राजनीति हटाउन
पराधीनताको जिन्दगीबाट टाढा रहन
कतिपटक भिउँदुला वारिपारि गरे होलान् ?
कुनै हिसाबकिताब छैन ।
चिलचिल्याको लेकमा उभिएर
दूरवीनले सगरमाथा ठम्याउँदै
शान्तिको विगुल फुके
कञ्चन पानीसँगै इतिहास खोज्ने मान्ठहरुले
सभ्यता र संस्कृति जोगाउँदै
कतै यत्रतत्र छरिएका मान्ठहरुलाई
पुराणको स्वर्ग कर्नाली हो भन्दै
हिजोको साख बचाउन
जल र जडिबुटीमा भविष्य खोज्दै
अघि बढिरहेका छन् कर्नालीका मान्ठहरु।
कर्नाली उक्लदैछ
पाण्डुहरु स्वर्ग लागेको बाटो हेर्दे
उकालो चढ्ने सपना देख्दै
हावाको झोक्कासँगै
विहानीको लाली निम्त्याएर
आफ्नै रफ्तारमा हिँडेका
लाखौं माण्ठहरु व्युँझाउँदै
धर्तीमा उज्यालो छर्न
सतीसाल भएर उभिएको छ
हर्षोउल्लास चारैतिर छाउँदै
मुस्कुराएको कर्नाली
समृद्धिको हुँकार लिएर ।

फरकबाटो २३ आश्विन २०७८, शनिबार १९:२४