नेतृत्व चयनमा हस्तक्षेप छैन, विधि मान्नुस् : माओवादी

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)ले पार्टीको सिद्धान्तअनुसार जनवादी केन्द्रीयताको अभ्यास गर्न र आफ्नो नेतृत्व चयन गर्न पार्टीका सबै समिति र जनवर्गीय सङ्गठन स्वतन्त्र रहेको स्पष्ट पारेको छ ।

पार्टीका प्रदेश समितिहरूको नयाँ नेतृत्व चयनमा सकस परिरहेको बेला माओवादीले सकेसम्म सहमति र नभए निर्वाचन प्रक्रियामार्फत नेतृत्व चयन गर्न सक्ने विधि प्रष्ट रहेको जनाएको छ ।

कतिपय प्रदेशमा प्रदेश समिति मात्रै चयन भएको, कुनैमा अध्यक्ष चयन भए पनि अन्य पदाधिकारी चयन हुन नसकेको तथा कतिपयमा विवाद छ ।

यस्तै जनवर्गीय सङ्गठनमा पनि अध्यक्ष मात्रै चयन भएको र अन्य पदाधिकारी चयन हुन नसकेको अवस्था छ । विद्यार्थी, युवा र पत्रकार सङ्गठनमा अध्यक्ष मात्रै चयन गरेर अन्य पदाधिकारी चयन हुन सकेको छैन ।