भोलिदेखि बालबालिकालाई कोरोना विरुद्धको खोप, कर्णालीका ९ जिल्लामा लगाइने


सुर्खेत । भोलिदेखि कर्णालीका नौ जिल्लासहित ५७ जिल्लामा १२ देखि १७ वर्षसम्मका बालबालिकालाई कोभिडविरुद्धको मोडर्ना खोप दिइँदैछ ।

कर्णालीका डोल्पा, मुगु, हुम्ला, जुम्ला, कालीकोट, दैलेख, जाजरकोट, रुकुम पश्चिम र सल्यान जिल्लामा खोप दिइने जनाइएको छ ।

प्रदेश–१ का ११, प्रदेश–२ का पाँच, वाग्मतीका सात, गण्डकी, लुम्बिनीका नौ/नौ जिल्ला र सुदूरपश्चिमका सात जिल्ला गरी ५७ जिल्लामा बालबालिकालाई मोडर्ना खोप दिन लागिएको हो । यि जिल्लामा भोलिदेखि १४ गतेसम्म मोडर्ना खोप दिन लागिएको हो ।

सुदूरपश्चिमका बाजुरा, बझाङ, दार्चुला, बैतडी, डोटी, अछाम र कञ्चनपुरमा बालबालिकालाई खोप दिन लागिएको मन्त्रालयले जनाएको छ ।

प्रदेश–१ मा ताप्लेजुङ, सङ्खुवासभा, सोलुखुम्बु, ओखलढुङ्गा, खोटाङ, भोजपुर, धनकुटा, तेह्रथुम, पाँचथर, इलाम र उदयपुर रहेका छन् ।

यस्तै प्रदेश–२ मा सिरहा, महोत्तरी, सर्लाही, रौतहट र बारा तथा वाग्मतीमा दोलखा, सिन्धुपाल्चोक, रसुवा, धादिङ, नुवाकोट, रामेछाप र मकवानपुरमा खोप दिने तयारी छ । यसैगरी गण्डकीका गोरखा, मनाङ, मुस्ताङ, म्याग्दी, लमजुङ, तनहुँ, नवलपरासी पूर्व, स्याङ्जा र पर्वत जिल्ला तथा लुम्बिनीका रुकुम पूर्व, रोल्पा, प्युठान, गुल्मी, अर्घाखाँची, पाल्पा, नवलपरासी पश्चिम, कपिलवस्तु र बर्दिया जिल्ला तोकिएको छ ।

अरु जिल्लामा भने फाइजर खोप लगाइने र त्यसको तयारी भइरहेको मन्त्रालयले जनाएको छ । सरकारले बालबालिकालाई विद्यालयबाटै खोप दिने तयारी गरेको छ । सम्बन्धित वडाले विद्यार्थीलाई पायक पर्ने गरी विद्यालयहरुमा खोप केन्द्र निर्धारण गर्ने खोप शाखाले जनाएको छ ।