भारतमा एक वर्षमा २२ हजार बढि गृहिणीले गरे आत्महत्या

एजेन्सी

नयाँ दिल्ली । भारतमा गृहिणीले आत्महत्या गर्ने दरमा वृद्धि भएको पाइएको छ । भारत सरकारको राष्ट्रिय अपराध तथ्यांक व्यूरो (एनसीआरबी) ले हालै सार्वजनिक गरेको रिपोर्टले देशभर गृहिणीले गर्ने आत्महत्या दरमा वृद्धि भएको देखाएको हो ।

भारतमा गत वर्ष मात्र २२ हजार ३७२ गृहिणीले आत्महत्या गरेको सो रिपोर्टले देखाएको छ । एनसीआरबीका अनुसार औसतमा दैनिक ६१ ले अर्थात् हरेक २५ मिनेटमा १ गृहिणीले आत्महत्या गर्ने गर्छन् ।सन् २०२० मा भारतभर जम्मा १ लाख ५३ हजारले आत्महत्या गरेका छन् ।

सो संख्यामध्ये १४.६ प्रतिशत गृहिणीले आत्महत्या गरेका छन् भने गृहिणीबाहेक अन्य ५० प्रतिशत महिलाले आत्महत्या गर्ने गरेको सो रिपोर्टले देखाएको छ ।

भारतमा गत वर्षमात्र नभइ एनसीआरबीले सन् १९९७ मा आत्महत्याको तथ्यांक राख्न सुरु गरेयता बर्सेनि २० हजार भन्दा बढि गृहिणीले आत्महत्या गर्ने गरेका छन् । सन् २००९ मा सो संख्या बढेर आत्महत्या गर्ने गृहिणीको संख्या २५ हजार ९२ पुगेको थियो ।

भारतमा गृहिणीमा हुने आत्महत्याको मुख्य कारण घरायसी समस्या र विवाहसँग सम्बन्धित मुद्धा मानिने गरिन्छ । तर बर्सेनि हजारौं महिलाले आफ्नो ज्यान लिने अन्य मुख्य कारण घरेलु हिंसापछि निम्तिने मानसिक स्वास्थ्य समस्या रहेको विज्ञहरुले बताएका छन् ।