सुर्खेतलाई सफा र स्वच्छ गराउन दबावमुलक र्‍याली

सुर्खेत । सुर्खेतलाई सफा र सुन्दर गराउने उद्देश्यले सरसफाई सम्बन्धी दबावमुलक र्‍यालीको आयोजना गरिएको छ ।अन्तरनिर्भर समाज सुर्खेतको नेतृत्वमा शुक्रबार वीरेन्द्रनगरमा सरसफाई सम्बन्धी दबावमुलक र्‍यालीको आयोजना गरिएको हो ।

र्‍यालीमा वीरेन्द्रनगर नगरपालिका ६ नं वडा कार्यालय, सुन्दर नेपाल संस्था, जिल्ला प्रहरी कार्यालय, जिल्ला ट्राफिक कार्यालय, मध्यपश्चिम विश्वाविद्यालयको सोसलवर्क टिम र ब्रेभ गोरखा ट्रेनिङ सेन्टरलगायतका संघसंस्थाको सहभागिता रहेको थियो ।

 

बसपार्क, वीरेन्द्रचोक,  गणेश चोक, आँखा अस्पताललगायत वीरेन्द्रनगर बजार ठाउँमा र्‍यालीले परिक्रमा गरेको थियो ।
व्यापारी, नागरिक, सरकार सबैलाई यहाँ सफा र स्वच्छ राख्न दबावमुलक र्‍यालीको आयोजना गरिएको अन्तरनिर्भर समाज सुर्खेतका कार्यक्रम व्यवस्थापक विवेक शाहीले जानकारी दिए ।

उनले भने, ‘सफा सुर्खेत आजको आवश्यकता हो भन्ने नाराका साथ हामीले सरसफाई सम्बन्धी दबावमुलक र्‍यालीको आयोजना गरेका हौँ । हामी सबै जिम्मेवार भए मात्र  सफा र स्वच्छ गराउन सकिन्छ ।’ उनले हरित पुर्नउत्थान प्रवद्र्धन परियोजनामार्फत वीरेन्द्रनगरमा सरफाई सम्बन्धी सचेतनामुलक कार्यक्रम पनि गर्दै आएको जानकारी दिए । स्वयंसेवक र सरसफाइ अभियानकर्ता तथा अन्य अभियान्ता, टोलबासीहरू र जनप्रतिनिधिहरूले सरसफाइ अभियानलाई निरन्तरता दिएको उनको भनाई छ ।

र्‍यालीमा ‘सफा सुर्खेत आजको आवश्यकता’, ‘स्वस्छ सुर्खेत, सफा सुर्खेत’, ‘एक पसल, एक डस्टविन’, ‘गाडी चल्दा झ्यालबाट फोहोर नफालौं’, ‘मेरो फोहोर मेरो जिम्मेवारी’, ‘फोहोर फाल्नेलाई घृणा गरौँ, सफा गर्नेलाई सम्मान गरौँ’, ‘फोहोर नफालौँ , सभ्य नागरिकको परिचय दिउँ ’, फोहोर व्यवस्थापनको नीति लागु गर र सफा सुर्खेत प्रतिको हाम्रो सरोकार, हाम्रो जिम्मेवारी हरित विरेन्द्रनगर भन्ने नारा लगाइएको थियो ।