मन्त्री ज्वालालाई बर्खास्त गर्न एमाले र रास्वपाको माग


सुर्खेत । प्रमुख प्रतिपक्षी नेकपा (एमाले) र प्रतिपक्षी राष्ट्रिय स्वतन्त्र पार्टीले भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालालाई पदमुक्त गर्न प्रधानमन्त्रीसँग माग गरेका छन् ।

प्रतिनिधिसभाको बैठकमा विशेष समयमा एमाले सचेतक महेश बर्तौला र रास्वपा सभापति रवि लामिछानेले सरकारी छानबिन समितिले नै दोषी देखाएका मन्त्री ज्वालालाई बर्खास्त गर्न माग गरेका हुन् । बालकुमारी घटनामा मन्त्री ज्वालालाई दोषी देखाएको भन्दै एमाले र राश्वपाले मन्त्री ज्वालालाई तत्काल बर्खास्त गर्न माग गरेका हुन् ।

सरकारका मन्त्रीको संलग्नता र उपस्थितका कारण घटना भएको भन्ने प्रतिवेदन सरकारी टोलीले नै देखाएको भन्दै एमाले सचेतक बर्तौलाले अस्ति बुझाइएको प्रतिवेदनअनुसार बालकुमारी घटनाका दोषी मन्त्रीलाई बर्खास्त गर्न माग गरिएको बताए । रास्वपाका सभापति रवि लामिछानेले प्रमाण हुँदा पनि कारबाही नगर्दा सुशासन नरहेको बताए ।

पुस १३ गते बालकुमारीमा कोरियन भाषा परीक्षा दिने युवाहरू र प्रहरीबीच झडप हुँदा दुई जना युवाको मृत्यु भएको थियो ।

बालकुमारी घटनाबारे जाँचबुझ गर्न सरकारले गठन गरेको आयोगले भौतिक, पूर्वाधार तथा यातायात मन्त्री ज्वालाको कमजोरीले घटना भएको निष्कर्षसहितको प्रतिवेदन शुक्रवार सरकारलाई बुझाएको थियो ।