बाराको सिम्रौनगढमा प्रहरीको गोली लागेर एकजनाको मृत्यु


सुर्खेत । बाराको सिम्रौनगढ नगरपालिकामा आन्दोलनरत शिक्षक–कर्मचारी र प्रहरीबीच झडप हुँदा एक जनाको मृत्यु भएको छ । झडपलाई सामान्य बनाउने भन्दै प्रहरीले हवाई फायर गर्दा गोली लागेर घाइते भएका सिम्रौनगढ नगरपालिका १ का २५ वर्षीय लक्ष्मी मुखिया विनको उपचारका क्रममा नारायणी अस्पतालमा मृत्यु भएको हो ।

झडपका क्रममा प्रहरीसहित अरू केही प्रदर्शनकारी घाइते भएका छन् । नगरपालिकामा कार्यरत कर्मचारी र शिक्षकले लामो समयदेखि तलब नपाएको भन्दै आन्दोलन गर्दै आएका छन् । नगरपालिकामा नगरसभाका विषयमा भएको जनप्रतिनिधिबीचको विवादले कर्मचारीले तलब–भत्ता पाउन नसकेका हुन् ।

आज बिहान नगरपालिका कार्यालय पुगेका मेयर किशोरी साह कलवार र प्रमुख प्रशासकीय अधिकृत मिश्रलाई आन्दोलनरत कर्मचारी र शिक्षकबाट हातपातको प्रयास भएपछि विवाद उग्र बनेको हो ।