कांग्रेस रूपान्तरण अभियानले पार्टीलाई बुझायो २१ बुँदे प्रतिवेदन

सुर्खेत । नेपाली कांग्रेसको रूपान्तरण अभियानले पार्टीलाई २१ बुँदे प्रतिवेदन बुझाएको छ । मङ्गलवारको पार्टी केन्द्रीय कार्यसमिति बैठकअघि अभियानले पार्टीका मुख्यसचिव कृष्णप्रसाद पौडेलमार्फत पार्टीलाई प्रतिवेदन बुझाएको हो ।

प्रतिवेदन बुझाइसकेपछि कांग्रेस नेता गुरु घिमिरेले पार्टीलाई यथास्थितिबाट मुक्त गर्न नसकिने बताए । उनले यथास्थितिले आउँदा दिनमा आउन सक्ने चुनौतीको सामना गर्न कांग्रेसले नसक्ने जिकिर गरेका छन् । उनले कांग्रेसलाई आन्तरिक रूपबाटै सुदृढ बनाएर विभिन्न आयामहरूमा देखिएका विभिन्न खाले समस्याहरूलाई समाधान गरेर पार्टीका अवयवहरूलाई क्रियाशील र गतिशील बनाउनुपर्ने बताएका छन् ।

कांग्रेस रूपान्तरण अभियानले गएको जेठ ११ देखि ३१ गतेसम्म सातै प्रदेशमा भेला गरेको थिए । कांग्रेस केन्द्रीय सदस्य मधु आचार्य, पूर्वकेन्द्रीय सदस्य गुरुराज घिमिरेलगायत युवा नेताहरूले कांग्रेस रूपान्तरण अभियान चलाएका थिए ।