पूर्वी नेपालमा भारी बर्षाको सम्भावना

सुर्खेत । नेपालको पूर्व भू–भागमा आगामी दुई दिनसम्म भारी बर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार मनसुनको न्यून चापीय रेखा पश्चिमतिर सरदर स्थानभन्दा दक्षिणतर्फ तथा पूर्वतिर सरदर स्थानभन्दा उत्तरतर्फ (नेपाल नजिक) अवस्थित छ । त्यसैले पश्चिमको तुलनामा पूर्वी नेपालमा बढी वर्षाको प्रक्षेपण गरिएको हो ।

आज र भोलि नेपालका पूर्वी र मध्य भेगमा तथा पर्सि पश्चिम भेगमा भारी वर्षाको सम्भावना रहेको महाशाखाले जानकारी दियो । आज र भोलि दुई दिन तराईका जिल्लाहरुमा हावाहुरीकोसमेत सम्भावना छ ।

अहिले कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ । कोशी र मधेशका एक–दुई स्थानमा भारी वर्षासमेत भएको छ । यो वर्षा विस्तारै कम हुँदै गएको महाशाखाको भनाइ छ ।