पाटेबाघको छाला र हड्डीसहित बाँकेको कोहलपुरबाट ४ जना पक्राउ

सुर्खेत । पाटेबाघको छाला र हड्डीसहित बाँकेको कोहलपुरबाट चार जना पक्राउ परेका छन् । प्रहरीको लुम्बिनी प्रदेश अनुसन्धान ब्यूरो र इलाका प्रहरी कार्यालय कोहलपुरको टोलीले कोहलपुर–११ हाम्रो बजारबाट पाटेबाघको एक थान छाला र छ किलो ८१८ ग्राम हड्डीसहित चार जनालाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा दैलेखको भगवतीमाई गाउँपालिका–५ का ३३ वर्षीय प्रवीणकुमार केसी, दैलेखकै ठाँटीकाँध गाउँपालिका–४ का ३० वर्षीय सुनिल चुनारा, अछामको पञ्चदेवल गाउँपालिका–२ का ३६ वर्षीय लोकेन्द्र शाही र जाजरकोटको बारकोट गाउँपालिका–३ का ५२ वर्षीय कर्णबहादुर रोकाय रहेका छन् ।

डिभिजन कार्यालय बाँकेका वन अधिकृत अजितकुमार कर्णका अनुसार छाला र हड्डी वयस्क पोथी बाघको हो ।

छालाको लम्बाइ नौ फिट आठ इञ्च रहेको छ । घाँटीमा दुई ठाउँमा गोलीको प्वाल फेला परेको छ । बरामद गरिएको हड्डी कतिवटा बाघको हो भन्नेबारे अनुसन्धान भइरहेको उनले बताए ।