सुर्खेत । सत्तारूढ नेकपा माओवादी केन्द्रसहित चार दलका शीर्ष नेताहरुबीच यही असार ५ गते समाजवादी मोर्चा घोषणा गर्ने सहमति बनेको छ ।
आज बिहान बालुवाटारमा भएको चार दलका शीर्ष नेताबीचको छलफलले मोर्चा घोषणाको मिति तय गरेको हो । बालुवाटारमा भएको छलफलमा माओवादी केन्द्रको तर्फबाट अध्यक्षसमेत रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ र महासचिव देव गुरुङ तथा नेकपा एकीकृत समाजवादीबाट अध्यक्ष माधवकुमार नेपाल, जसपाबाट अध्यक्ष उपेन्द्र यादव र नेकपाबाट महासचिव विप्लव सहभागी भएका थिए ।
समाजवादी मोर्चामा डा। बाबुराम भट्टराई अध्यक्ष रहेको नेपाल समाजवादी पार्टी र वामदेव गौतमको संयोजकत्वमा रहेको राष्ट्रिय एकता अभियानसमेत गरि ६ दल समेट्ने तयारी भएपनि आजको छलफलमा बाबुराम र वामदेव सहभागी थिएनन् ।
तर यसअघि स्थानीय तहसम्म संयन्त्र बनाउने गरी ६ दलको संयुक्त मोर्चा घोषणा गर्ने बताइएको थियो । प्रगतिशील र समाजवादी शक्तिहरुको गठबन्धनलाई ‘समाजवादी मोर्चा नेपाल’ नाम दिइएको छ ।
मोर्चाको १५ बुँदे नीतिगत प्रतिबद्धतामा दलहरु सहमत भएपछि यसको घोषणा गर्न लागिएको हो ।

फरकबाटो ३ असार २०८०, आईतवार १२:१६