टेकनाथ रिजाल र शमशेर मियाँलाई दुई दिन हिरासतमा राख्न अनुमति

सुर्खेत । काठमाडौँ जिल्ला अदालतले नक्कली शरणार्थी प्रकरणमा अनुसन्धानका लागि बिहीबार पक्राउ परेका भुटानी शरणार्थी नेता टेकनाथ रिजाल र नेपाल हज समितिका अध्यक्ष शमशेर मियाँलाई हिरासतमा राखेर अनुसन्धान गर्न दुई दिनको म्याद दिएको छ ।

रिजाललाई झापाबाट काठमाडौँ आउने क्रममा बिहीबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट प्रहरीले पक्राउ गरेको थियो भने मियाँलाई सिंहदरबारस्थित ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयबाट पक्राउ गरेको काठमाडौँका प्रहरी परिसरले जानकारी दिएको छ ।

उक्त घटनामा यसअघि प्रहरीले पूर्वमन्त्री र बहालवाला सचिवसहित १४ जनालाई पक्राउ गरी प्रारम्भिक बयान लिइसकेको छ । बिहीबार पक्राउ परेका दुईसहित उक्त घटनामा पक्राउ पर्नेको संख्या १६ पुगेको छ ।