विश्वकप क्रिकेटको एसिया छनोट नेपालमा हुने


सुर्खेत । नेपालले ट्वान्टी–२० विश्वकप छनोटको एसिया क्षेत्रको छनोट चरणको प्रतियोगिता आयोजना गर्ने भएको छ । अमेरिका र वेस्ट इन्डिजले सन् २०२४ को जुनमा आयोजना गर्ने ट्वान्टी–२० विश्वकपका लागि अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी)ले नेपाललाई एसिया क्षेत्रको छनोट चरणको प्रतियोगिता आयोजना गर्न दिएको हो ।

नोभेम्बर १ देखि १० सम्म एसिया क्षेत्रको ट्वान्टी विश्वकप छनोट प्रतियोगिता आयोजना गर्न आईसीसीले नेपाललाई आयोजनाको जिम्मेवारी दिएको नेपाल क्रिकेट संघ (क्यान) का अध्यक्ष चतुरबहादुर चन्दले बताए । एसियाको छनोटमा नेपालसहित, यूएई, ओमान, हङकङ, बहराइन र सिंगापुरले प्रतिस्पर्धा गर्दैछन् । बाँकी दुई छनोट चरण पार गरेर आउनेछन् ।

सहभागी टोलीलाई दुई समूहमा विभाजन गरिएको छ भने समूहको शीर्ष दुई टोली सेमिफाइनल पुग्नेछ । फाइनल पुग्ने टोलीले अर्को वर्ष अमेरिकी महाद्वीपमा हुने विश्वकपमा स्थान बनाउने छ ।

प्रतियोगिताका खेलहरू त्रिवि क्रिकेट मैदान कीर्तिपुर र मूलपानीको माथिल्लो क्रिकेट मैदानमा हुनेछ । हालै सम्पन्न एसीसी प्रिमियर लिग कपबाट मूलपानी क्रिकेट मैदान प्रयोगमा आएको थियो ।