सुर्खेत । भुटानी शरणार्थीको परिचयपत्र बनाएर नेपालीलाई अमेरिका पठाउने नाममा ठगेको आरोपमा थप ३ जनाविरुद्ध पक्राउ पुर्जी जारी भएको छ । घटनामा संलग्न आरोपमा उपराष्ट्रपतिको कार्यालयमा कार्यरत सचिव टेकनारायण पाण्डेसहित ८ जना प्रहरीको हिरासतमा छन् ।
पछिल्लो समय केशव तुलाधर, हरिभक्त महर्जन र लक्ष्मी महर्जनको नाममा अदालतबाट पक्राउ पुर्जी जारी भएको जिल्ला प्रहरी परिसर काठमाडौँका एक अधिकृतले बताए । पक्राउ पुर्जी जारी भएका तिनै जना आरोपी फरार छन् ।
पक्राउ पुर्जी जारी भएका हरिभक्त न्यूरोडको ताम्राकार कम्प्लेक्सस्थित दिया सहकारीको सञ्चालक समिति सदस्य हुन् ।
हरिभक्त र लक्ष्मीको नामको बैंक खातामा ५५ लाख नगद डिपोजिट भएको अनुसन्धानबाट थाहा भएको छ । ठगीमा संलग्न मुख्य योजनाकार सन्देश शर्माको आग्रहमा पीडित मध्येका गजेन्द्र बुढाथोकी र रामकुमार रेग्मीले उनीहरूको खातामा नगद डिपोजिट गरेको भेटिएको छ ।
केशव तुलाधर पनि सहकारी सञ्चालक हुन् । तुलाधरको बैंक खातामा पनि ठगीको रकम आएको देखिएको अनुसन्धानमा संलग्न एक जना प्रहरी अधिकृतले बताए ।
फरकबाटो २२ बैशाख २०८०, शुक्रबार २०:१७