सिङ्गापुरमा १ किलो गाँजा बोक्दा मृत्युदण्ड


सुर्खेत । सिङ्गापुरले गाँजा तस्करीमा दोषी ठहरिएका आफ्नै देशका ४६ वर्षीय नागरिक टङ्गाराजु सुपियाहलाई मृत्युदण्ड दिएको छ ।

सुपियाहका परिवार, मानव अधिकारवादी कार्यकर्ता र राष्ट्र सङ्घीय मानव अधिकार उच्चायुक्तको कार्यालयबाट भएको क्षमायाचनाको अनुरोधलाई बेवास्ता गर्दै आज बिहान उनलाई झुन्ड्याएर मृत्युदण्ड दिइएको हो ।

सिङ्गापुर कारागार सेवाका एक जना प्रवक्ताले मृत्युदण्ड दिइएको पुष्टि गरेका छन् । सन् २०१७ मा एक किलो गाँजा बोकेका उनीमाथि तस्करीको षड्यन्त्र गरेको अभियोग लगाइएको थियो ।

मानव अधिकारवादीहरूले पर्याप्त प्रमाणविना नै उनलाई दोषी ठहर्‍याइएको तथा अभियोजनको क्रममा सीमित कानुनी पहुँच प्रदान गरिएको दाबी गरेका छन् । सिङ्गापुरका अधिकारीहरूले भने त्यस दाबीलाई निराधार भन्दै मुद्दाको निष्पक्ष सुनुवाइ भएको बताएका छन् ।

लागुपदार्थविरुद्ध विश्वको सबैभन्दा कठोर कानुन भएको देश सिङ्गापुरमा गएको वर्ष ११ जनालाई मृत्युदण्ड दिइएको थियो । तीमध्ये तीन चम्चा हेरोइन तस्करी गरेको आरोपमा दोषी मानिएका बौद्धिकरूपमा अक्षम एक जनालाई पनि फाँसी दिइएको थियो ।

विश्वका विकसित देशमा गाँजामाथिको प्रतिबन्ध खुलिरहेका बेला सिङ्गापुर भने लचिलो भएको छैन । छिमेकी मलेसियाले मृत्युदण्डमा संशोधन गरेको छ भने थाइल्यान्डमा गाँजाको कारोबारलाई वैधानिक मानिन्छ । अमेरिकाका केही राज्यमा पनि गाँजालाई औषधीय प्रयोजनका निम्ति खुला गरिएको छ ।