वैशाख १५ र ३१ गते ‘बृहत् खोज र खोप’ अभियान सञ्चालन हुँदै


सुर्खेत । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले खोप लगाउन छुटेका ५ वर्ष मुनिका सबै बालबालिकाका लागि बृह्त खोज र खोप अभियान कार्यक्रम सञ्चालन गर्ने बताएको छ । हरेक वर्ष अप्रिलको अन्तिम सातामा विश्व खोप सप्ताह मनाइन्छ ।

यही वैशाख १५ र ३१ गते (दुई दिन) देशभरका सबै सरकारी स्वास्थ्य संस्थाबाट नियमित खोप छुटेका ५ वर्ष मुनिका सबै बालबालिकाहरुलाई खोप दिइने परिवार कल्याण महाशाखाले जनाएको हो ।

नेपाल सरकारको उच्च प्राथमिकतामा रहेको कार्यक्रम हो, राष्ट्रिय खोप कार्यक्रम । बाल मृत्युदर घटाउन तथा बालबालिकालाई विभिन्न रोगबाट जोगाउन यो कार्यक्रम वि।सं २०३४ सालबाट ३ वटा जिल्लाबाट सुरु गरिएको थियो । ४ प्रकारका रोगबाट सुरु गरिएको खोप कार्यक्रममा हाल सबै जिल्लामा १३ वटा रोगविरुद्धको खोप दिइन्छ ।

कोही पनि बालबालिका खोप पाउनबाट वञ्चित हुनुहुँदैन भन्ने सरकारको नीति नै छ । तर पनि विभिन्न कारणले सबै बालबालिकाहरु खोपको पहुँचमा आउन सकेका छैनन् । नेपालमा ९६ प्रतिशत बालबालिकाले खोप सुरु गर्नु सुखद देखिन्छ तर ४ प्रतिशत बालबालिका खोप पाउन सकेका छैनन् । नेपाल जनसांख्यिक सर्वेक्षणअनुसार १६ प्रतिशत बालबालिकाहरु पूर्ण खोपबाट वञ्चित छन् भने ४ प्रतिशत बच्चा शून्य डोज पनि लगाएका छैनन् । धेरैले ९ महिनासम्म खोप लगाए पनि पूर्ण मात्राको खोप लगाउने समयसम्म ड्रप आउट भएको तथ्यांकले देखाउँछन् ।

दादुरा निवारणका लागि ९५ प्रतिशतले दादुरा खोप लगाएको हुनुपर्छ । दादुरा–रुबेला रोगबाट पूर्णरुपमा बचाउन नियमित खोपमार्फत बालबालिकालाई ९ महिना पुगेपछि पहिलो मात्रा र १५ महिना पुगेपछि दोस्रो मात्रा लगाउनै पर्दछ ।

सन् २०१९ सम्ममा दादुरा उन्मूलन गरिसक्ने बताएको नेपालले पछि २०२३ सम्ममा दादुरा उन्मूलन गर्ने प्रतिबद्धता जनाएको थियो । अब यो लक्ष्य २०२६ सम्म सारिएको छ।