माओवादी संसदीय दलको विधान संशोधन गर्न ५ सदस्यीय कार्यदल गठन


सुर्खेत । नेकपा (माओवादी केन्द्र) ले संसदीय दलको विधान संशोधनका लागि कार्यदल बनाएको छ । माओवादी संसदीय दलका नेता एवम् प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको अध्यक्षतामा आज मङ्गलवार सिंहदरबारमा बसेको संसदीय दलको बैठकले विधान संशोधनका लागि पाँच सदस्यीय कार्यदल बनाएको हो ।

माओवादी संसदीय दलका प्रमुख सचेतक हितराज पाण्डेको संयोजकत्वमा कार्यदल गठन भएको सांसद राजन दाहालले जानकारी दिए । कार्यदलमा प्रतिनिधि सभा र राष्ट्रिय सभाका सांसद सदस्य छन् । कार्यदलको सदस्यमा प्रतिनिधि सभाबाट पूर्ण घर्तीमगर र विमला सुवेदी तथा राष्ट्रिय सभाबाट जगप्रसाद शर्मा र गङ्गा बेलबासे छन् ।

कार्यदलले विधान संशोधनका विषयमा प्रतिवेदन प्रस्तुत गर्ने र त्यही प्रतिवेदनका आधारमा विधानलाई अन्तिम रूप दिइने सांसद दाहालले सुनाए । आफ्नो रुचिअनुसारको संसदीय समिति छनोट गर्ने विषयमा पनि बैठकमा छलफल भएको थियो ।

बैठकमा प्रधानमन्त्री प्रचण्डले सरकार सञ्चालन, सरकारको गतिविधिका सम्बन्धमा जानकारी गराए । अनुशासित र मर्यादित ढङ्गबाट संसदमा प्रस्तुत हुने विषयमा अध्यक्ष एवम् प्रधानमन्त्रीले निर्देशित गरेको उनले बताएका हुन् ।