राष्ट्रिय क्रिकेट टोलीका कप्तान पौडेललाई केपी ओली युवा प्रतिभा पुरस्कार


सुर्खेत । राष्ट्रिय क्रिकेट टोलीका कप्तान रोहित पौडेललाई केपी ओली राष्ट्रिय युवा प्रतिभा पुरस्कारबाट सम्मान गरिएको छ । आईसीसी विश्व कप क्रिकेट लिग–२ मा उत्कृष्ट प्रदर्शन गर्दै टोलीलाई विश्व कप छनोटमा पुर्‍याउन भूमिका खेलेको भन्दै कप्तान पौडेललाई यो पुरस्कारबाट सम्मान गरिएको हो ।

नेपालगञ्जमा आज सोमवारदेखि सुरु भएको युवा सङ्घ नेपालको नवौँ राष्ट्रिय महाधिवेशनको उद्घाटन समारोहमा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले कप्तान पौडेललाई एक लाख रुपियाँको चेकसहित ट्रफी प्रदान गरेका हुन् ।

कार्यक्रममा बोल्दै अध्यक्ष ओलीले पार्टीको प्रमुख उद्देश्य आर्थिक विकास र समृद्धि भएको बताए । एमालेले तीन वर्षको अवधिमा विकास र समृद्धिका लागि नमुनायोग्य काम गरेको दाबी गर्दै उहाँले वर्तमान सत्ता गठबन्धनले देशको आर्थिक अवस्था ध्वस्त बनाएको आरोप समेत लगाए ।

यो महाधिवेशन नयाँ नेतृत्व चयन गर्दै चैत २९ गते सम्पन्न हुनेछ । महाधिवेशनमा झन्डै दुई हजार जना प्रतिनिधिको सहभागिता रहेको छ । कार्यक्रममा नेकपा माओवादी केन्द्रका वैकिल्पक केन्द्रीय सदस्य एवम् पूर्वराज्यमन्त्री दलबहादुर सुनारलगायत एमालेमा प्रवेश गरेका छन् ।