चैत ३० गते चुनाव गर्न चार विद्यार्थी सङ्गठनबीच सहमति


सुर्खेत । चार विद्यार्थी सङ्गठनबीच त्रिभुवन विश्वविद्यालय (त्रिवि)का बाँकी रहेका क्याम्पसमा स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) चुनाव यही चैत ३० गते गर्ने सहमति भएको छ । उनीहरुले चुनाव बिथोल्ने कुनै पनि गतिविधि नगर्ने प्रतिबद्धता जनाएका छन् ।

नेपाल विद्यार्थी सङ्घका अध्यक्ष दुजाङ शेर्पा, अनेरास्ववियुका अध्यक्ष समिक बडाल, अनेरास्ववियु (क्रान्तिकारी)का अध्यक्ष पञ्चा सिंह र अनेरास्ववियूका अध्यक्ष सुदेश पराजुलीले आज संयुक्तरुपमा विज्ञप्ति जारी गर्दै यही चैत ५ गते स्ववियु चुनाव हुन नसकेका त्रिविका आंगिक र सम्बन्धन प्राप्त क्याम्पसमा आगामी चैत ३० गते चुनाव गराउन सहमति गरेका छन् ।

“देशभरि चुनाव हुन बाँकी रहेका आंगिक र सम्बन्धन प्राप्त क्याम्पसमा चुनाव गर्ने, चुनाव विथोलिने खालका गतिविधि नगर्ने र चुनाव भाँड्ने गरी कुनै पक्षबाट तालाबन्दी गरियो भने प्रशासनको सहयोगमा ताला तोडी चुनावी प्रक्रिया अगाडि बढाउन प्रतिबद्ध छौँ”, संयुक्तरुपमा जारी गरिएको विज्ञप्तिमा उल्लेख छ । भर्ना विवादका कारण स्ववियु चुनाव रोकिएका क्याम्पसमा विवादित विषयमाथि सत्यतथ्य छानबिनका लागि अध्ययन र अनुगमन गर्न विश्वविद्यालयको केन्द्रीय अनुगमन समितिलाई अनुरोध गरी चुनाव प्रक्रिया अगाडि बढाउनसमेत उनीहरुले माग गरेका छन् ।

उपत्यकाका अमृत साइन्स, त्रिचन्द्र, पाटन संयुक्त क्याम्पस, विश्वभाषा, रत्नराज्य र नेपाल कमर्श क्याम्पसमा चुनाव प्रक्रिया रोकिएको छ । यस्तै उपत्यकाबाहिर पृथ्वीनारायण क्याम्पस, पश्चिमाञ्चल इन्जिनियरिङ क्याम्पस, पोखरा नर्सिङ क्याम्पस, ठाकुरराम बहुमुखी क्याम्पस वीरगञ्ज, वीरेन्द्र बहुमुखी क्याम्पस चितवन, चितवन इन्जिनियरिङ क्याम्पस र सिद्धनाथ बहुमुखी क्याम्पसमा चुनाव गर्न बाँकी छ । यही चैत ५ गते १४ वर्षपछि त्रिविका अधिकांश क्याम्पसमा स्ववियु चुनाव सम्पन्न भएको थियो । केही क्याम्पसमा भर्ना र विद्यार्थी सङ्गठनबीच विवादका कारण चुनाव हुन सकेको थिएन ।