रवि लामिछानेको उम्मेदवारीविरुद्ध ४ वटा उजुरी


सुर्खेत । आगामी वैशाख १० गते चितवन क्षेत्र नम्बर २ मा हुने प्रतिनिधि सभा सदस्यको उपचुनावका लागि उम्मेदवारी दर्ता गराएका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेविरुद्ध चार वटा उजुरी परेका छन् । मुख्य निर्वाचन अधिकृतको कार्यालयमा आज मङ्गलवार ती उजुरी दर्ता भएका हुन् ।

तीन वटा उजुरी उम्मेदवार र उनका प्रतिनिधिले गरेका हुन् भने एउटा उजुरी कानुन व्यवसायी युवराज पौडेल सफलले इमेलमार्फत दर्ता गराएका हुन् । अन्य तीन जनाले उम्मेदवार वा उम्मेदवारको प्रतिनिधिले दिने दाबी विरोधअन्तर्गत उजुरी परेको हो ।

राष्ट्रिय जनमोर्चाका तर्फबाट उम्मेदवार जनकराज शर्माका प्रतिनिधि डम्बर पुरी, स्वतन्त्र उम्मेदवार सन्तोष थापा र अर्का स्वतन्त्र उम्मेदवार अम्बिका भट्टका प्रतिनिधि शिवहरि सुवेदीले उजुरी दर्ता गराएका हुन् ।

लामिछाने विरुद्ध नेपालको नागरिकता लिएको ९० दिन नकटी उम्मेदवार बन्न नपाउने कानुनी प्रावधान रहेको र पुरानो नागरिकताको आधारमा मतदाता परिचयपत्र रहेकाले नयाँ लिनुपर्ने विषयमा उजुरी परेका हुन् । सफलको भने प्रतिनिधि सभा सदस्य निर्वाचन ऐन २०७४ को दफा १५ बमोजिम उजुरी दर्ता भएको हो । दफा १५ मा कुनै पनि उम्मेदवारको चुनावको परिणाम आउनुभन्दा पहिला योग्यताका विषयमा जो सुकैले उजुरी दिन सक्ने उल्लेख छ ।

उपचुनावका लागि यस क्षेत्रमा १२ राजनीतिक दलकासहित २४ जनाले उम्मेदवारी दर्ता गराएका छन् । मङ्सिर ४ गते सम्पन्न प्रतिनिधि सभा चुनावमा यस क्षेत्रबाट निर्वाचित रास्वपाका सभापति रवि लामिछानेको नागरिकता सर्वोच्च अदालतले खारेज गरेसँगै संसद् पद गएपछि अहिले उपचुनाव हुन लागेको हो । यस क्षेत्रमा एक लाख २४ हजार छ सय ९५ ले मतदाता रहेका छन् । उनीहरूले ४३ ठाउँका एक सय ३८ केन्द्रबाट मतदान गर्ने छन् ।