इक्वेडरको दक्षिणी तटीय क्षेत्रमा शक्तिशाली भूकम्प : १२ जनाको ज्यान गएको पुष्टि


सुर्खेत । इक्वेडरमा शक्तिशाली भूकम्प जाँदा कम्तीमा १२ जनाको ज्यान गएको पुष्टि भएको छ । दक्षिणी तटीय क्षेत्रमा ६ दशमलव ७ रेक्टर स्केलको भूकम्प गएको हो ।

११ जनाको एल ओरो र एक जनाको अजुए प्रान्तमा ज्यान गएको इक्वेडरका अधिकारीलाई उद्धृत गरी बीबीसीले जनाएको छ ।

मनाबी, मान्ता र राजधानी क्विटोलगायत अन्य धेरै सहरहरूमा पनि भूकम्पको धक्का महसुस भएको छ । भूकम्पपछि धेरै सहरमा भवनहरू क्षतिग्रस्त भएका छन् । दक्षिणी प्रान्त एल ओरो सबैभन्दा बढी प्रभावित भएको छ । मानिसहरू भत्किएका घरमा फसेका छन् । उद्धारको काम भइरहेको छ ।

भूकम्पको केन्द्रबिन्दु इक्वेडरको दोस्रो ठूलो सहर ग्वायाकिलबाट झण्डै ५० माइल बालाओ नजिक रहेको थियो । आपत्कालीन टोलीहरू प्रभावित क्षेत्रमा खटिएका छन् । सन् २०१६ यता इक्वेडरमा आएको यो सबैभन्दा शक्तिशाली भूकम्प हो ।