आइसीसी यू-१९ विश्वकप छनोटमा नेपालकाे  दोस्रो जित


सुर्खेत । आइसीसी यू-१९ पुरुष विश्वकपको एसिया छनोट प्रतियोगितामा नेपालले लगातार दोस्रो जित हात पारेको छ ।

शनिबार भएको दोस्रो खेलमा नेपालले कुवेतलाई २४३ रनको फराकिलो अन्तरले पराजित गरेको हो । यूएईस्थित मलिका क्रिकेट मैदानमा नेपालले दिएको ३४४ रनको लक्ष्य पछ्याएको कुवेतले ३०.५ ओभरमा अलआउट हुँदै १०० रन मात्र बनायो ।

कुवेतका लागि जुधा सालधानाले २६ रन बनाउँदा रसिन मोहमदले १९ रन बनाए । किसोरी भाइ हिन्सु १६ रनमा आउट हुँदा अन्य खेलाडीले दोहोरो अंकमा रन बनाउन सकेनन् ।

नेपालका लागि आकाश चन्दले ६ तथा हेमन्त धामी र दिपेश कंडेलले समान २/२ विकेट लिए । त्यसअघि पहिले ब्याटिङ गरेको नेपालले ५० ओभरमा ७ विकेट गुमाएर ३४३ रन बनाएको हो ।

नेपालका लागि ओपनर अर्जुन कुमाल र कप्तान देव खनालले १७० रनको सानदार शतक प्रहार गरेका थिए । कप्तान खनालले ११७ बलमा ९ चौका तथा ३ छक्काको सहयोगमा १२५ रन बनाए ।

विशाल बिक्रम केसीले १४ बलमा २३ रन बनाउँदा दिपक डुम्रे १६ बलमा २० रनमा अविजित रहे । दिपक बोहोराले ९ बलमा १९ रन बनाए । नेपालका ओपनर दिपक बोहोरा १३ तथा शुक्रबार सिंगापुरविरुद्धको खेलमा अर्धशतक प्रहार गरेका आकास त्रिपाटी ३ रनमा आउट भए ।

कुवेतका हेनरी थोमसले र सहिल काज्मीले समान २/२ तथा जय महेशकुमार मेहता १ विकेट लिए ।

प्रतियोगितामा नेपालसहित सिंगापुर, कुबेत, हङकङ, मलेसिया र आयोजक यूएई सहभागी छन् । नेपालले अब सोमबार तेस्रो खेलमा हङकङविरुद्ध खेल्नेछ । चौथो खेलमा २८ तारिखमा मलेसियाको सामना गर्ने नेपालले २ मार्च घरेलु टोलीसॅंग अन्तिम खेल खेल्नेछ ।

राउण्ड रोबिनका आधारमा हुने प्रतियोगिताको शीर्ष टोली २०२४ मा श्रीलंकामा हुने यू-१९ विश्वकपका लागि छनोट हुनेछ ।