आफ्नै बुवाले पेट्रोल छर्किएर आगो लगाइदिंदा २ वर्षे छोराको मृत्यु, आमा घाइते

सुर्खेत । बाँकेको कोहलपुर नगरपालिका वडा नम्बर २ शक्तिनगरका एक युवकले पेट्रोल छर्किएर आगो लगाउँदा उनका दुई वर्षीय छोराको मृत्यु भएको छ भने श्रीमती घाइते छिन् ।

स्थानीय ३० वर्षीय भानुभक्त विकले आइतबार बेलुकी करिब पाँच बजेतिर श्रीमती गंगा र छोरा प्रिन्सलाई पेट्रोल छर्किएर जलाएका थिए । त्यसपछि भारततर्फ भागेका उनलाई प्रहरीले राती करिब साढे १ बजेतिर नियन्त्रणमा लिएर कारबाही प्रक्रिया अघि बढाएको छ ।

जलेर गम्भीर घाइते भएका दुई वर्षीय बच्चा प्रिन्सको भेरी अस्पताल नेपालगञ्जमा उपचारको क्रममा आज बिहान मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बाँकेका प्रवक्ता डीएसपी रामप्रसाद घर्तीले जानकारी दिए । उनले भानुभक्तलाई भारतको नानपारा आसपासबाट नियन्त्रणमा लिएर अनुसन्धान तथा कारबाही प्रक्रिया अघि बढाएको पनि बताए ।

गंगाको हाल भेरी अस्पताल नेपालगञ्जमा उपचार भइरहेको छ ।