खाँडाचक्रका मेयर र उपमेयरबीच सडकमै कुटाकुट


सुर्खेत । आन्तरिक विवाद चर्किएपछि कालीकोटको खाँडाचक्र नगरपालिकाका मेयर र उमपेयरबीच सडकमै हात हालाहाल भएको छ ।

नगरपालिकाले भर्खरै खुलाएको विज्ञापनमा करारमा कसका कति कर्मचारी राख्ने र कसको पहुँच कति हुने भन्ने विषयमा मेयर कमलबहादुर शाही र उपमेयर गणेशबहादुर शाहीबीच विवाद भएको थियो । दुवै जनाले अडान नछोड्दा झडपको अवस्था आएको कर्मचारीले बताएका छन् ।

शुक्रवार राति अबेर सडकमै हात हालाहाल गरेका मेयर र उपमेयरले आज आइतवार बिहान ११ बजे फेरि नगरपालिका भवनबाहिर झगडा गरेका प्रत्यक्षदर्शीले बताएका छन् । मेयरले पुराना कर्मचारी सबै हटाउन नमानेका र उपमेयरले करारका सबै कर्मचारी हटाएर नयाँ विज्ञापन गर्नुपर्ने अडान लिएपछि झडपको अवस्था आएको हो ।

खाँडाचक्र नगरपालिकाका प्रशासन प्रमुख अबिराज शाहीले नगरपालिकामा हाजिर नै नगरि तलब भत्ता खुवाएको आरोप लागेको छ । गएको वैशाखमा भएको पालिका चुनावमा मेयर स्वतन्त्रबाट र उपमेयर माओवादी केन्द्रबाट विजयी भएका थिए ।

मेयर कमलबहादुर शाही अहिले नेकपा एकीकृत समाजवादीमा प्रवेश गरेका छन् । चुनावमा तत्कालीन सत्तापक्षको समीकरणमा टिकट नपाएपछि उनले स्वतन्त्रबाट उम्मेदवारी दिएका थिए ।