आफैँलाई आगो लगाएका प्रेमप्रसाद आचार्यको उपचारको क्रममा मृत्यु


सुर्खेत । सङ्घीय संसद् भवन अगाडि आफ्नै शरीरमा आगो लगाएका इलामका प्रेमप्रसाद आचार्यको उपचारका क्रममा मृत्यु भएको छ । कीर्तिपुरमा रहेको बर्न अस्पतालमा उपचारका क्रममा आज बिहान ५ बजे उनको मृत्यु भएको हो ।

इलामको सूर्योदय नगरपालिकाका ३७ वर्षीय आचार्यले हिजो आफैँले आफ्नो शरीरमा पेट्रोल हालेर आगो लगाएका थिए । स्थानीय बासिन्दा र प्रहरीको सहयोगमा आगो निभाएर उद्धार गरी उपचारका लागि बर्न अस्पताल लगे पनि शरीरको धेरैजसो भाग जलिसकेकाले बचाउन नसकिएको डाक्टर किरण नकर्मीले जानकारी दिए ।

आफूलाई आगो लगाउनुअघि आचार्यले सामाजिक सञ्जालमा लामो स्टाटस लेख्दै आफू ठूलो आर्थिक सङ्कटमा फसेको बताएका थिए ।