कर्णाली प्रदेशले चार महिनामा करिब पाँच प्रतिशत बजेट खर्च गर्‍याे

सुर्खेत । कर्णाली प्रदेश सरकारले चालु आर्थिक वर्ष २०७८/७९ को पहिलो चौमासिकमा करिब पाँच प्रतिशत बजेट खर्च गरेको छ ।
प्रदेश लेखा नियन्त्रक कार्यालयका अनुसार कात्तिक मसान्तसम्म प्रदेश सरकारले ४.८३ प्रतिशत बजेट खर्च गरेको हो ।
चालु खर्च ७.५५ प्रतिशत र पुँजीगत खर्च २.९६ प्रतिशत भएको कार्यालयले जनाएको छ । यस अवधिमा  कुल बजेट ३६ अर्ब ५३ करोड ५५ लाख २६ हजार रुपैयाँमध्ये एक अर्ब ७६ करोड ४४ लाख ८२ हजार २३० रुपियाँ ५३ पैसा खर्च भएको छ ।

सबैभन्दा बढी बजेट रहेको भौतिक पूर्वाधार तथा सहरी विकास मन्त्रालयले ३.१४ प्रतिशत मात्रै खर्च गरेको छ । मन्त्रालयले कुल १२ अर्ब ३४ करोड ३५ लाख १० हजार बजेटमध्ये ३८ करोड ७१ लाख ५७ हजार ५०१ रुपैयाँ खर्च गरेको हो ।

मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले कुल बजेटको दुई प्रतिशत मात्रै बजेट खर्च गरेको छ । चार अर्ब ४९ करोड ८६ लाख ६६ हजार रुपैयाँ बजेटमध्ये आठ करोड, ९८ लाख ४९ हजार ५५५ रुपैयाँ बजेट खर्च भएको छ ।

भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयले दुई अर्ब, ९५ करोड ८० लाख पाँच हजार रुपैयाँ बजेटमध्ये १६ करोड १८ लाख १७ हजार ६८९ रुपैयाँ बजेट खर्च गरेको छ ।

आर्थिक मामिला तथा योजना मन्त्रालयले १८.८५ प्रतिशत, उद्योग, पर्यटन वन तथा वातावरण मन्त्रालयले सात प्रतिशत, जलस्रोत तथा ऊर्जा विकास मन्त्रालयले १.४२ प्रतिशत, भूमि, व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयले ५.४७ प्रतिशत, आन्तरिक मामिला तथा कानून मन्त्रालयले ८.५५ प्रतिशत, सामाजिक विकास मन्त्रालयले ९.९१ प्रतिशत, कर्णाली प्रदेश योजना आयोगले ७.४३ प्रतिशत र स्थानीय तहले ५.८९ प्रतिशत बजेट खर्च गरेका छन् ।

प्रदेश सरकारले बजेट कार्यान्वयन अझै सुधार गर्न सकेको छैन् । प्रदेश सरकारको  पुँजीगत खर्च कमजोर छ । अघिल्ला वर्ष जस्तै चालु आर्थिक वर्षमा पनि प्रदेश सरकारको बजेट कार्यान्वयन अवस्था सुस्त देखिएको छ । कर्मचारी अभावलगायतका कारणले सरकारले बजेट खर्च गर्न नसकेको हो । आर्थिक मामिला तथा योजना मन्त्रालयका सचिव चक्रबहादुर बुढाले दोस्रो र तेस्रो चौमासिकमा बजेट खर्चको प्रगति देखिने बताए ।

उनले चालु आर्थिक वर्षमा ८० प्रतिशतसम्म बजेट खर्च गर्ने लक्ष्य लिएको जानकारी दिए । अघिल्ला वर्षको तुलनामा यस वर्ष बजेट अनुमान सोचे अनुसार हुने उनको भनाइ छ । ‘पहिलो चौमासिकमा खासै बजेट प्रगति देखिदैन् । दोस्रो र तेस्रोमा खर्च बढी हुन्छ । यस वर्ष बजेट खर्च बढ्छ,’ उनले भने ।